डडेल्धुरा। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। आज शनिबार नेपाल कम्युनिष्ट पार्टी बहुमत जिल्ला समिती डडेल्धुराले एक विज्ञप्ति जारी गर्दै उनलाई जनकारबाही गर्ने चेतावनी दिएको हो।पार्टीका जिल्ला इन्चार्ज डम्बर विष्ट र संयोजक सागरद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यको पहुँच र पावरको भरमा देशका बिभिन्न स्थानमा ठगी, कालोबजारी, अबैध कार्य, करछली लगायत जनबिरोधी काम भैरहेको बताएका छन्।
यस्तै डडेल्धुराको भित्री मधेश क्षेत्रमा राजेन्द्र निर्माण सेवा प्रालिले रंगुन खोला छेउछाउमा अवैध क्रसर उद्योग सञ्चालन, बुडर जोगबुडा सडक कालोपत्रे गुणस्तरहिन काम भएको ध्यानाकर्षण भएको जनाएको छ। यस्तै बुडर दैजी सडक निर्माणका मजदुरहरुको पारिश्रमिक नदिएको विषयले हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको हुँदा निज प्रालिका सञ्चालकले अविलम्ब यी विषय समाधान नगरे जनताको जनकारबाहीको दायरामा ल्याउने व्यहोरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ।