डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिकाको जिप दुर्घटना भएको छ। शुक्रबार बिहान डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको बा २ झ ३८७३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। विपरित दिशाबाट आइरहेको कुखुरा बोकेको जीपसंग गाउँपालिकाको जीप ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो गाउँपालिकाको जीप धनगढीतर्फ आइरहेको थियो। दुबै गाडिको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य मानविय क्षति नभएको प्रहरीले जनाएको छ। यता,बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले आफू काठमाडौंमा भएकोले गाडी दुर्घटनाको बारेमा जानकारी नभएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बहादुर चन्दले भने हालै सो गाडीको चालक परिवर्तन गरिएको र हिजो पालिकाको कार्यालयबाट गाडी लगिएकोमा आज दुर्घटना भएको जानकारी दिए।
हिजो बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष चन्द्रभान सुनार उक्त जीप ल्याएर धनगढीतर्फ आएका थिए। स्रोतका अनुसार पुराना गाडी चालकलाई हटाएर फुड्सिल गाउँपालिका अध्यक्ष गड्सिलाले आफ्ना नातेदार देव बहादुर गड्सिलालाई हालै नयाँ चालकको रुपमा राखेका थिए। यसअघि सशि मगरले चलाउने गरेकोमा श्रावण २८ गते उनको करार सम्झौता गरिएको थिएन । पहिले एम्बुलेन्स चलाउने चालक देव गड्सिलाले जिप चलाएका थिए। गड्सिला गाउँपालिका अध्यक्ष कमल गड्सिलाका गोतियार दाजु हुन। उनी दिपायलमा थन्किएको एम्बुलेन्सका चालक थिए। उनले उक्त जीप चलाएको एक हप्ता नबित्दै दुर्घटना भएको हो।उक्त जीपमा वडा नम्बर ७ का अध्यक्ष चन्द्रभान सुनारसहित वडाअध्यक्षका आफन्त तथा व्यापारी टोलिहरुको यात्रा थियो।यता जिप प्रयोगको बारेमा गाउँपालीका अध्यक्षको सामाजिक सञ्जालमा आलोचना भएको छ ।