धनगढी : प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागी मिति तय भएसंगै बिभिन्न दलबाट आ आफ्नो दावी नेताहरुले प्रस्तुत गर्न थालेका छन् । देशकै ध्यान हुने कैलाली क्षेत्र नम्बर ५ मा पुरानै उमेदवारबिच प्रतिस्प्रधा हुने देखिएको छ । २०७४ सालमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका एमाले नेता तथा पोलिटब्युरो सदस्य नारदमुनी राना एमालेबाट फेरी उमेदवार हुने तयारीमा छन् ।
काग्रेंसलेपनि फेरी आरजु रााण देउवालाइनै कैलाली क्षेत्र नम्बर ५ मा उमेदवार बनाउने तयारी गरेको छ । आरजु नारदमुनी रानासंग २०७४ मा ५ हजार मतले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।
‘यहाँबाट अघिल्लो पटक निर्वाचित नारदमुनि राना नै उम्मेदवार बन्नुहुन्छ’, एमालेका एक जिल्ला पदाधिकारीले भने, ‘प्रदेशमा धेरै आकांक्षी भए पनि प्रतिनिधिसभामा त्यति धेरै छैनन् ।’ उनले यस क्षेत्रमा यस पटक पनि एमाले विजयी हुने दाबी गरे । ‘पहिलेभन्दा अहिले एमाले झन् बलियो भएको छ’, उनले थपे, ‘हामी यस पटक पनि जित्छौं ।’
यता नेपाली कांग्रेसले पनि यस पटक आफ्नो पार्टी विजयी हुने दाबी गरेको छ । यहाँबाट प्रतिनिधिसभातर्फ आरजु राणा नै उम्मेदवार बन्ने कांग्रेस कैलाली सचिव नृप सुनारले बताए । ‘उहाँ (आरजु) नै यस पटक पनि उम्मेदवार बन्नुहुन्छ’, उनले भने ‘उम्मेदवार बन्ने कुराभन्दा पनि जित्ने नै उहाँले हो ।’ यस क्षेत्रमा धनगढी उपमहानगरपालिका पूरै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्छन् । कांग्रेसले धनगढीमा प्रमुख र उपप्रमुखसहित १९ वटा वडामध्ये १२ वटा जितेको थियो ।
तर, गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जित्न सकेन । यहाँ प्रमुखमा स्वतन्त्र उम्मेदवार र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भए । अघिल्लोपटक २ वटा वडामा सीमित एमालेले अहिले ६ वटा वडा जितेको छ । सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । तर, कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नहुने दाबी गरेको छ ।
गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली ५ मा कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)को १५० मत छ ।