धनगढी। २०३९ सालमा अञ्चल अस्पताल बनेपछि स्तरोन्नति नभएको सेती प्रादेशिक अस्पताल अब स्तरोन्नति गर्ने प्रक्रिया सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रक्रिया सुरु भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कार्यविधिसहित दुई सय शय्याको अस्पताल बनाउन मन्त्रिपरिषद्बाट स्वीकृति लिएको हो । ०३९ सालमा ५० शय्याको अस्पताल स्वीकृत भएपछि पहिलो पटक सुदूरको यो प्रमुख स्वास्थ्य संस्थाको स्तरोन्नति हुन थालेको हो ।
यस अघि यो अस्पताल स्वास्थ्य केन्द्र हुंँदै जिल्ला अस्पतालमा परिणत भएको थियो । ०३९ सालमा अञ्चल अस्पताल बनेपछि अहिलेसम्म अस्पतालको स्तरोन्नति हुन सकेको छैन । ‘स्तरोन्नतिका लागि आवश्यक बजेट र कानुनी प्रक्रिया पुगाएपछि मात्र मन्त्रिपरिषद्ले निर्णय गरेको हो,’ प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द वोहराले भने ‘कानुनअनुसार प्रदेश सरकारलाइ दुइ सय शय्यासम्म स्वीकृत दिन मिल्ने हुंँदा यसै आर्थिक बर्षमा स्तरोन्नति हुनेगरी निर्णय भएको हो ।’
सुदूरपश्चिमको प्रमुख स्वास्थ्य संस्थाका रुपमा सेवा दिंदै आएको भएपनि बिरामीको चाप बढेको र स्तरोन्नति गर्न ढीलो भइसकेको पनि मन्त्री बोहराले बताए । उनले भने ‘दुई सय शय्याभन्दा वढीको स्वीकृतिका लागि संघीय सरकारले निर्णय गर्ने हुंँदां प्रदेश सरकारको आवश्यक सिफारिससहित म काठमाडौं आएको छु ।’ यस आर्थिक वर्षमा कम्तीमा पनि ५ सय शय्याको हुनेगरी स्तरोन्नति गर्ने प्रयासमा प्रदेश सरकार रहेको पनि उनले वताए । मन्त्रालयले स्तरोन्नतिका लागि आवश्यक डीपीआर तयार गरेपछि अर्थ र कानुन मन्त्रालयको सहमति लिएर मात्र स्तरोन्नतिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि दरबन्दी भौतिक संरचना र अन्य आवश्यकता पूरा गर्न मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । पन्तले भने ‘मन्त्रालयले अविलम्ब चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति र भौतिक संरचनाका लागि काम सुरु गर्न लागेको छ ।’ मन्त्रालयले स्तरोन्नतिका लागि आवश्यक पर्ने संगठन तथा व्यवस्थापन सर्भेक्षण पनि गरिसकेको जानकारी दिएको छ । महाशाखा प्रमुख पन्तका अनुसार संगठन तथा व्यवस्थापन सर्भे मन्त्रिपरिषद्बाट स्वीकृति हुनेबित्तिकै स्तरोन्नतिको काम अगाडि बढ्नेछ । ५० शय्याको अस्पतालमा अहिलेसम्म स्वीकृत दरबन्दी १०४ छ,’ उनले भने, ‘दुई सय शय्या हुनेबित्तिकै झन्डै ४ सयबढी दरबन्दी आवश्यक रहेको छ ।’ अस्पतालले आफ्नो आन्तरिक स्रोतबाट पनि ७५ शय्या गरी अहिले १ सय २३ शय्याको सेवा प्रदान गरिरहेको छ । सरकारी दरबन्दीबाहेक अहिले अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी गरी ४ सय कर्मचारी रहेका छन् ।
अस्पतालका एक जना प्रशासकीय अधिकृत वेदप्रकाश जोशीले मंगलबार अस्पताल स्तरोन्नतिबारे मन्त्रिपरिषद्को निर्णय भएको जानकारी अहिलेसम्म अस्पताललाई आईनसकेको बताएका छन । ‘निर्णय भएको छ तर आधिकारिक जानकारी आइसकेको छैन,’ उनले भने, ‘अस्पतालले दिइरहेको सेवाअनुरूप दुई सय शय्या पनि कम नै हुन्छ ।’ पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५० जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा भरपर्दो स्वास्थ्य सेवा दिइरहेको यो एक मात्र प्रादेशिक अस्पताल हो । तीन वर्षअघि पनि प्रदेश सरकारले अस्पतालको स्तरोन्नति गर्ने भन्दै तत्कालीन मन्त्रीले सार्वजनिक गरेका थिए । तर काम हुन सकेको थिएन । महाशाखा प्रमुख पन्त भने त्यो बेला निर्णय नभएको तर गर्ने भन्ने अभिव्यक्ति मात्र बाहिर आएको बताउँछन् । उनले भने, ’निर्णय भएको कतै देखिँदैन तर मिडियामा मन्त्रीलाई उद्धृत गर्दै समाचारहरू प्रकाशित भएका थिए ।’ यसपटक भने कार्यविधि, ओएनएम सर्भेक्षण, डीपीआर तयार गरेर मात्र मन्त्रिपरिषद्ले स्तरोन्नति गर्ने निर्णय गरेको उनले बताए ।
सुदूरपश्चिममा प्रदेश सरकारअन्तर्गत ९ वटा अस्पताल रहेका छन्। संघीय सरकारअन्तर्गत रहेको डडेलधुरा अस्पतालबाहेक सबै जिल्ला अस्पताल र दुईवटा प्रादेशिक अस्पताल गरी ९ वटा अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको छ । यसबाहेक डडेलधुरा जोगबुढा अस्पताल, कैलालीको मालाखेती अस्पताल , टीकापुर अस्पताल, अछामको बयलपाटा अस्पताल र कञ्चनपुरको श्रीपुर अस्पताल गरी सुदूरप्रदेशमा १३ वटा सरकारी अस्पताल रहेका छन् । गेटामा निर्माणाधीन मेडिकल कलेज भने अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सुदूरपश्चिमका अरु सबै अस्पतालले रेफर गरेर पठाउने एक मात्र अस्पताल सेती प्रादेशिक अस्पताल हो । पहाडी जिल्लाका सबै अस्पतालले सामान्य बिरामी पनि यसै अस्पतालमा पठाउने गरेका छन् भने महाकाली प्रादेशिक अस्पतालले पनि जटिल खाले बिरामी यही पठाउने गरेको छ । दैनिक कम्तीमा ४ सयदेखि बढीमा एक हजारसम्म बिरामीले यो अस्पतालबाट सेवा लिने गरेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि बिरामीहरू अन्यत्र जाने गरेका छन् ।कान्तीपुरबाट /डीआर पन्त