धनगढी। धनगढीस्थीत सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। मङ्गलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्री गोविन्दराज बोहराका स्वकीय सचिव टेकराज पाण्डेयले सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको जानकारी दिए। सामाजिक विकास मन्त्रीले आर्थिक मामिला मन्त्रालय र कानून मन्त्रालयको रायअनुसार २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको पाण्डेयले जानकारी दिए।
उनले भने, २ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ स्वकीय सचिव पाण्डेयले भने। प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसंगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए।