धनगढी। आन्तरिक राजश्व कार्यालय धनगढीले गत आर्थिक बर्ष भन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा ५ अर्व ७८ करोड १२ लाख ७८ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा सो लक्ष्य भन्दा कम राजश्व संकलन गरेको हो। राजश्व कार्यालय धनगढीले ३२ प्रतिशत कम अर्थात ३ अर्व ९४ करोड ९९ लाख ७२ हजार मात्रै राजश्व संकलन गरेको जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गा प्रशाद पौडेलका अनुसार बहाल कर, व्याज कर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क कर भने लक्ष्य भन्दा कम संकलन भएको छ । वहाल कर ४ करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा ३७ प्रतिशत कम अर्थात २ करोड ७७ लाख २६ हजार संकलन भएको छ। व्याज कर ४ करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा ५२ प्रतिशत कम अर्थात २ करोड ३७ लाख २२ हजार संकलन भएको छ ।
मुल्य अभिवृद्धि कर १ अर्व ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा ३२ प्रतिशत कम अर्थात ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । यस्तै अन्त शुल्क कर २ अर्व ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्व ४३ करोड ७ लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्य भन्दा ५० प्रतिशत कम हो । आन्तरिक राजश्व कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक बर्षमा लक्ष्य निर्धारण नगरेको भएपनि १३ हजार संकलन भएको जनाएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार कुल राजश्वका शिर्षक मध्ये गत आर्थिक बर्षमा आय कर र स्वास्थ सेवा कर भने लक्ष्य भन्दा बढी संकलन गरिएको छ ।आयकर १ अर्व ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य राखिएकोमा १ अर्व ४० करोड, ९२ लाख ४ हजार अर्थात लक्ष्य भन्दा करिब ३ प्रतिशत बढी संकलन भएको छ । यस्तै स्वास्थ्य सेवा कर ५ करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात ९ करोड ३७ लाख ६ हजार संकलन भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्य भन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन भएको थियो । सो आर्थिक बर्षमा ४ अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ५ अर्ब ५३ करोड ६ लाख ३० हजार रुपैयाँ १२३.५४ प्रतिशत राजश्व सङ्कलन भएको थियो। सूचना अधिकृत पौडेलले गत आर्थिक बर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन हुनुको मुख्य कारण कर्मचारी अभाव भएको बताए । उनले दरबन्दी अनुसारका कर्मचारी नहुँदा राजश्व संकलनमा कमी आएको बताए । कर्मचारी अभाव मुख्य कारण रहेको बताउँदै कर उठ्नको लागि बजार अनुगमन पनि आवश्यक रहेका बताए । उनले कार्यालयमा कर अधिकृत ६ जनाको दरबन्दी भएपनि ५ जना, नायब सुब्बा ८ जनाको दरबन्दी रहेकोमा ४ जना मात्रै कार्यरत रहेको बताए ।उनले चालु आर्थिक बर्षमा भने लक्ष्य अनुसारको कर उठाउने दाबी गरेका छन् । चालु आर्थीक बर्षमा ४ अर्व ७६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ।