दार्चुला। दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। दार्चुलाको लेकम गाउँपालिका २ गराडी बस्ने ३० वर्षीया काली सार्कीलाई शनिबार हेलिकप्टरबाट उद्दार गरेर थप उपचारका लागि सुर्खेत लगिएर उद्दार गरिएको हो। लेकम गाउँपालिका १ सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ति महिलाको उद्दार गरिएको प्रशासनले जनाएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दार गरिन थालेपछि सुत्केरी महिलाहरुको ज्यान जोगिएको छ । दार्चुलामा हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरर्गत ३ जना महिलाहरुको उद्धार गरिएको छ ।