धनगढी। कैलालीको गेटा मेडिकल कलेज र वीर अस्पतालबीच दुई पक्षीय सम्झौता भएको छ । गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)_बीच द्विपक्षीय सम्झौता भएको हो।चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि दुवै संस्थाबीच सम्झौता भएको जनाइएको छ।
गेटा मेडिकल कलेज, अस्पतालका निर्देशक सहायक प्रा.डा. प्रमोद जोशी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।सम्झौतानुसार दुवै संस्थाले विशेषज्ञ जनशक्ति आदानप्रदान गर्ने छन्। यसैगरी, विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोग पनि आदानप्रदान गर्ने सम्झौता गरिएको छ ।यस्तै, अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदानप्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ। अस्पतालका निर्देशक सहायक प्रा.डा. प्रमोद जोशीका अनुसार मेडिकल कलेजका भवन निर्माणको कार्य ९० प्रतिशत कार्य पूरा भए पनि बिजुली, खानेपानी र ढलको व्यवस्था नभएका कारण समस्या भएको छ। गेटामा मेडिकल कलेज र अस्पताल सञ्चालनको प्रक्रियाले गति लिएको उनले बताएका छन्। कैलालीको गेटामा भौतिक संरचना तयार भए पनि गेटा मेडिकल कलेज, अस्पताल अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन । सरकारले अझै पनि यसको मोडालिटी नै बनाउन सकेको छैन । मोडालिटी तय नहुँदा मेडिकल कलेज, अस्पताल सञ्चालनको कुनै टुङ्गो लागेको छैन । अहिलेसम्म भौतिक संरचनामात्रै पाँच अर्ब रुपियाँ खर्च भएको छ।