डोटी। डोटीको सायलस्थीत कौराडी स्वास्थ्य इकाईमा पाँच दिन देखि ताला लागेको छ। डोटीको सायल गाउँपालिकाको करार तथा ज्यालादारीका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । गाउँ कार्यपालिकाले गत असार ३१ गते करार, अस्थायी तथा ज्यालादारीका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गर्दै असोज १ गते देखि काममा नआउन अनुरोध गरेको थियो।
उक्त निर्णय उचित नभएको भन्दै करारका कर्मचारी आन्दोलित भएका हुन्। आन्दोलित करारका कर्मचारीले वडा नम्बर एकमा रहेको कौराडी स्वास्थ्य इकाईमा असोज ३ गते र वडा नम्बर एककै छपालिमा रहेको स्वास्थ्य केन्द्रको बाहिरी गेटमा शुक्रवार तालाबन्दी गरेका छन्। ताला खोल्न पटक पटक आग्रह गर्दा पनि गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आफूहरूसँग छलफल नगरेसम्म ताला नखोल्ने अडान राखेका छन् ।
कामको मूल्याङ्कन नै नगरी गाउँपालिकाले आफूहरूलाई अन्यायपूर्ण तरिकाले हटाएको आन्दोलित कर्मचारीको आरोप छ । स्वास्थ्य इकाईमा तालाबन्दी भएको ५ दिन बितिसक्दा इकाईबाट हुने सेवा प्रभावित हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन्। उता गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले ताला खोल्ने प्रयास भइरहेको बताएका छन्। करार कर्मचारीको करार अवधि थप्ने वा नथप्ने भन्ने अधिकार गाउँ कार्यपालिकासँग भएकाले हटाइएका कर्मचारीले ताला लगाए सेवा प्रभावित गर्न खोज्नु अर्थहीन रहेको उनले बताए। हामी पाँच वर्षको लागि पालिकामा आएका छौँ पाँच वर्ष पूरा भएपछि तालाबन्दी गरेर बस्न सुहाउँछ र ?उनले भने । त्यसैले ताला खोलेर सेवाग्राहीलाई सेवा दिन सहज बनाउन आन्दोलनकारी कर्मचारीलाई उनले अनुरोध गरेका छन् ।