अछाम। २०७९ बैशाख ३१ गते मंगलसेनबाट बिहान साढे ९ बजेतिर तीन वटा मोटरसाइकलमा हामि छ जना(झंकर रावल, दिलिप रावल ,झपट रावल ,भुपेन्द्र रावल ,भरत रावल र रमेश बिक)रामारोशनको भ्रमणमा निस्केउ। ठाटिखादमा पुगेपछि खाजा खाएउ त्यसै क्रममा गाउँकै अर्को २ जना(पुर्ण रावल ,चक्र शाहि) पनि रामारोशन जाने सल्लाह भएपछि अब हामी ८ जना भयौ , ठाटिखादबाट अप्ठ्यारो सडक जंगलको बाटो हुँदै दिउँसो १२ बजेतिर रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर पुग्यौ । खाना खानलाई २/४ होटेल खोज्यौ तर सबैतिर होटेलले खाना तयारी नभएको र खाना बनाउनुपर्ने बताएपछि हामीलाई रामारोशन कतिबेला पुगौ पुगौ लागेको थियोे ।
खाना खाएर जादा ढिलो हुने देखिएपछि सामान्य खाजा अनि चिसो पेयपदार्थ लिएर हामी हिडेउ। बाटो अप्ठ्यारो भएपनि बाटोको छेउमै बग्ने कैलाश खोला, वारिपारिका डाडापाखाको दृश्यले सबै थकाइ मेटाइदिन्थ्यो । दिउँसो साढे २ बजेतिर रामारोशनको सुरुमै आउने सीता गेस्ट हाउसमा पुगेउ त्यहाँ झन खाना हुने कुरै थिएन , हामि संग भएको झोला त्यहि गेस्टहाउसमा राखेर साझ त्यही बस्ने निधो गरेउ , साहुजिले भनेअनुसार त्यो ढिलो भैसकेकोले धेरै घुम्न नसकिने एक दुई ताल मात्र घुम्न सकिने बताएपछि हामी जति सकिन्छ त्यति घुम्ने भनेर अगाडि बढेउ , बाटोमा लाँलिगुराश फुलेको मज्जाले देख्न पाइन्थ्यो , रामे हुँदै विभिन्न बनस्पतिको अवलोकन गर्दै थरीथरीका चराचुरुङ्गीको आवाजले दिमागलाई एकाग्रता दिन्थ्यो ।अछामको उत्तर(पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्र जिल्ला हुँदै बग्ने कैलाश नदीको उद्गमस्थल पनि हो । रामारोशन क्षेत्र भएरै अछामको बिच भाग हुँदै यो नदी बग्ने गर्छ ।रामारोशनलाई १२ बण्ड (ताल) १८ खण्ड (पाटन) ले चिनिन्छ । बाह्र बण्डमा जिगाले ताल सबैभन्दा ठूलो, त्यसका वरिपरी केही दूरीमा बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे ताल, र गेराह ताल पर्दा रहेछन्।त्यसैगरी अठार खण्डमा किनिमिनी खण्ड, रोशन टोउका खण्ड, रोशन जिगाले खण्ड, रोशन बागफाल खण्ड, रामे रोशन खण्ड, दल्याना रामे खण्ड, पातल दल्याना खण्ड , गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड, चिल्फु गाग्रा खण्ड, बागफल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, पिनालेखी टोट्के खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड , चिल्फु गाग्रा खण्ड , बागफाल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, चिर्किटे खालापोखर खण्ड, नेटाकोट साकोट खण्ड , रामे रगाडे खण्ड, किनिमिनि सिदुरे खण्ड, र पिनालेखी टोट्के खण्ड पर्छन। यी मध्ये त्यो दिन बाटुल्ला ताल र जिंगले ताल र केही खण्ड घुम्ने भ्याइयो । जिंगाले तालमा डुङ्गा सन्चालनमा रहेछ।हामीले डुङ्गा सवार (बोटिङ) गर्दा सम्म दिउँसो ४ बजिसकेको थियो भने सिमसिमे पानी पनि पर्न सुरु भएको थियो ।रुखको फेदमुनी बस्दै पानी छेक्दै ५ बजेतिर हामी बस्ने सीता गेस्ट हाउसमा बसेउ ।साझपखको खाना मासु खाने सल्लाह भयो , अनि गेस्ट हाउसका सन्चालकलाइ भनेर एउटा खसीको जोहो गर्न अनुरोध गरेउ , उहाले फोन गरेर एउटा खसी खरिद गरिदिनुभयो । साझ खसी काटेउ केहि मासु पोलेर सुकुटी बनाएर खाएउ भने केही मासु खाना संग खाएउ बाकी बचेको भोलिपल्टको लागि राखिदिन अनुरोध गरेउ त्यो दिन रमाइलो गर्न पुरन दाजुले डेउडा , दोहोरो गाउनुभयो । पछिल्लो दिन जेठ१ गते बिहान मकैको रोटि जडिबुटीबाट बनाएको चिया नास्ताको रुपमा खाएउ अनि त्यो दिन रोशन मैदान , स्वर्गको पहाड(मालिका जाने) ,लगायतका बाकी ठाउँ घुमेर आएपछि मात्र खाना खाने निधो गर्दै बिहान ७ बजे आवस्यक पानीका बोतल, बिस्कुट, चाउचाउ झोलाभरी बोक्दै हिडेउ। मनै लोभ्याउने रोशनको गडाको छेउमा कैलाश खोलाको मुहान रहेछ हामी संग भएको खाली बोतलमा पबित्र कैलाश खोलाको पानी भरेपछि रामारोशन क्षेत्रको माथिल्लो भागमा देखिने पत्थर र चट्टानसहितको पहाड जस्लाइ चाकाडाँडाका रूपमा बुझ्ने गरिन्छ । यो डाँडाको टुप्पोदेखि तराईका विभिन्न जिल्लाको बिजुलीको उज्यालो प्रस्ट देख्न सकिने यहाँका मानिस बताउँछन् । हामी पनि त्यो अग्लो अप्ठ्यारो पहाड चढ्ने निधो गरेउ तर एकदमै हिड्न अप्ठ्यारो भएकोले सबैजना त्यो उकालो चढ्न नसक्ने भएपछि बिच पहाडबाट फर्कनुपर्यो , त्यो डाडाबाट कुनै उपत्यका भन्दा कम नभएको किनिमिनिको गडा प्रष्ट देख्न सकिन्थ्यो , जुन गडालाइ जनयुद्ध कालमा माओवादीले आफ्नो प्रशिक्षण केन्द्र बनाएको थियो । हामी संग भएको पानी चाउचाउ बिस्कुट सकिसकेको थियो , हामीले खाना खान बाकी नै थियोे त्यसकारण अरु ठाउँ घुम्न असमर्थ भयौ । बिस्तारै बिस्तारै फर्कदा दिउँसो २ बजे फेरि त्यही सीता गेस्टहाउसमा पुगेपछि खाना खाएउ , एकछिन आराम गरेर हामी हाम्रो गाउँमा फर्केउ । सरकारले घोषणा गरेका १०० गन्तव्यमा पर्न सफल रामारोशन साच्चिकै स्वर्गको एक टुक्रा हो । त्यहाँ पुग्दा सारा पीडा दुख आफै हराएर जान्छन , स्वच्छ सुन्दर हावापानी ,थरीथरीका चराचुरुङ्गीको मिठो आवाजले सबैको मन लोभ्याउने गर्छ ।,बाघ , भालु , बँदेल , मृग , स्याल , बादर लगायतका बन्यजन्तुको आरक्षको रुपमा रहेको यो क्षेत्र आन्तरिक तथा बाह्य प्रर्यटकका लागी उत्कृष्ट एक गन्तव्य हो । बसन्त ॠतुमा दर्जनौं किसिमका रंग भएको लालिगुँराश फुल्ने गर्दछन , भने क्यान्सरको लागि औसधि समेत हुने लौठ सल्ला लगायतका सयौं जडिबुटी पनि यो क्षेत्रमा पाइने गरिन्छ । अछाममा विभिन्न बाटो प्रयोग गर्दै रामारोशन सम्म पुग्न सकिन्छ जसमध्ये सदरमुकाम मंगलसेन देखि ठाटिखादबाट ताली हुँदै रामारोशन गाउपालिकाको केन्द्र मुजाबगर सम्म ग्रामीण बाटो प्रयोग गरि मोटरसाइकल , साना चार पांग्रे गाडीको प्रयोग गर्न सकिन्छ भने अर्को महत्त्वपूर्ण बाटो अछामको व्यापारीक केन्द्र साफेवगर बाट जयगड हुँदै मुजावगर पुग्न सकिन्छ त्यसपछि फेरि ग्रामीण बाटोकै माध्यमबाट रामारोशन सम्म पुग्न सकिन्छ।
भरत बहादुर रावल
मंगलसेन १२ अछाम