बझाङ। नेपाल कम्युनिस्ट पार्टी बहुमतले सरकारले ढुवानी अनुदानमा बझाङको विकट साइपाल गाउँपालिकामा पठाइरहेको नुन ढुवानी नै नगरी अनियमितता गरेको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
जनताको दैनिक जीविकासँग जोडिएको नुनलगायत खाद्यान्न ढुवानीमा पनि अनियमितता हुने गरेकोस प्रशासन, प्रहरी, ठेकेदार र जनप्रतिनिधि नै यसमा संलग्न रहेको विषय गम्भीर रहेको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा बहुमतले ज्ञापन पत्र बुझाएको हो ।बिहीबार प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर विष्टलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला इन्चार्ज लोकेन्द्र सार्कीले यो घटना सामसुम पार्ने संकेत देखिएको बताए ।‘दुर्गमका जनताको जीवन सहज होस् भनेर राज्यले दिएको अनुदानमा आँखा लगाउनेलाई कारबाही भएन भने यसको प्रतिकार गर्छौं‚’ उनले भने । साइपाल गाउँपालिकामा तीन वर्षदेखि सरकारले ढुवानी अनुदानमा दिएको नुन ढुवानी नभएको तर कागज मिलाएर ढुवानी अनुदानबापतको १ करोड २८ लाखभन्दा बढी रकम भुक्तानी गरिएकोबारे समाचार प्रकाशित भएपछि उक्त घटना बाहिरिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले नुन ढुवानीको मुख्य जिम्मेवार निकाय साल्ट ट्रेडिङ कर्पोरेसन रहेकाले कर्पोरेसनले नै यस विषयमा छानबिन गर्नुपर्ने बताए। ‘यो विषयमा गुनासो आइरहेको छ । हामी साल्ट ट्रेडिङलाई जानकारी गराउँछौं‚’ उनले भने ।