बैतडी। बैतडीमा म्याद नाघेका अखाद्य वस्तु विक्रि गर्ने ३३ व्यवसायीमाथि कारवाही गरिएको छ । बैतडीमा बजार अनुगमनका क्रममा गत आर्थिक बर्षमा म्याद नाघेका अखाद्य वस्तु विक्रि वितरण गर्ने ३३ व्यवसायीलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार विभिन्न स्थानमा बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्ने, लेवल नभएका सामग्री विक्रि गर्ने र उपभोक्ताको हित विपरीत व्यापार व्यवसाय गरिएको भेटिएको बताए। बजार अनुगमनका क्रममा कारवाही गरिएका व्यवसायीबाट २ लाख ४५ हजार जरीवाना असुल गरिएको र ४६ हजार ६ सय ८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ उनले भने।
गत आर्थिक बर्षमा संयुक्त बजार अनुगमन समितिले स्थानीय तहहरुसंगको समन्वयमा जिल्लाका मुख्य बजारहरुमा अनुगमन गरेको सूचना अधिकारी भारतीले बताए। बजारमा पहिलाको तुलनामा केही सुधार भएको भएपनि अझै म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने क्रम रोकिएको छैन् । व्यवसायी र उपभोक्ता दुवैलाई कुनैपनि सामग्री खरीद अथवा विक्रि गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिएका छन् ।