बैतडी। बैतडीमा मापदण्ड विपरीतका एम्बुलेन्स सञ्चालनमा रहेको पाइएको छ। बैतडीमा १२ ओटा एम्बुलेन्स भएपनि राष्ट्रिय एम्बुलेन्स निर्देशिका अनुसार कुनै पनी एम्बुलेन्स सञ्चालनमा नरहेका पाइएको हो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क वर्ग र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ। तर ति सबै एम्बुलेन्स ग वर्गका छन् ।
जिल्लामा सञ्चालित एम्बुलेन्सहरुलाई ख वर्गका बनाउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले निर्देशन दिएको भएपनि अहिले सम्म त्यसो हुन सकेको छैन् । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड अनुसारका नभएका र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोके अनुसार नभएको बताए । एम्बुलेन्सका लागि आवश्यक जनशक्ति, औषधि, उपकरण आदिको व्यवस्था गर्नुपर्छ। त्यसका लागि निर्देशिकामा मापदण्ड उल्लेख गरे अनुसार बैतडीमा कुनै पनि एम्बुलेन्स छैनन्,उनले भने।
मापदण्ड अनुसारका एम्बुलेन्स नहुँदा बिरामीले पाउनुपर्ने आवश्यक सुविधा पाउन सकेका छैनन्। जिल्ला एम्बुलेन्स सञ्चालन समितिले सबै एम्बुलेन्सलाई दुई महिनाभित्र ख वर्गमा स्तरोन्नती गरी सञ्चालन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको भएपनि अहिलेसम्म कसैले पनि स्तरोन्नती नगरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ६ महिनादेखि धनगढीमा थन्किएको छ । भने डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स पनि २ महिनादेखि सञ्चालनमा नरहेको बताइएको छ। एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा स्थानीय तहहरुले खासै चासो समेत नदिएको र कतिपय स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमै अन्यौलता कायमै छ।