धनगढी। धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवाको सुरुवात गरिएको छ। आइतबार एक कार्यक्रमका बीच सेवाको सुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा गरिएको हो ।
धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको सुरुवात गरिएको छ । धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको बताइएको छ । यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले यसअधि नै आफूलाई चढ्न दिइएको गाडी विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरिसकेका छन् । नगर प्रमुखको रुपमा पाइने कुनै पनि सुविधा व्यक्तिगत कामका लागि उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भनेका थिए ।