कैलाली। कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखीमा क्याम्पस प्रमुखले गिरफ्तारी दिएका छन्। गत असार २९ गते उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर भएकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन्।
जाहेरीपछि प्रहरीले खोजी गर्दै आएका पुरचौडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगी आइतबार आफैँ जिल्ला प्रहरी कार्यालय बैतडी पुगेर गिरफ्तारी दिएका हुन्। नेगीविरुद्ध मजदुर महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता भएपछि प्रहरीले उनको खोजी थालेको थियो। तर, आज नेगी आफै जिल्ला प्रहरी कार्यालय बैतडीमा पुगेका छन्। प्रहरीले घटनाको छानविन चलिरहेको बताएको छ।
यस्तै बलात्कार आरोप लागेपछि चर्को आलोचना खेपेका उनले नैतिकताका आधारमा राजीनामा दिएको र छानविनका लागि सघाउन राजीनामा दिएको जनाएका थिए। आज उनले एक विज्ञप्ती जारी गर्दै चौधरी महिलालाई प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने काम भएकाले निस्पक्ष छानविनको लागि आफूले प्रहरी सामु गिरफ्तारी दिएको भनेका छन् ।नेगी स्वयं प्रहरी कार्यालय पुगेपछि उनीविरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। उनले आफ्नो चरित्रहत्या गर्न सुनियोजित रूपमा महिलालाई प्रयोग गरिएको आरोप लगाउँदै सत्यतथ्य छानबिनको माग गरेका छन्।