बैतडी। बैतडीको पाटनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका छन् । बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा असहमति जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका हुन्। असार १० गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बाहिर गएर बजेट ल्याएको भन्दै उनीहरुले सभा बहिष्कार गरेका हुन् ।
बजेटमा राजनीतिक पूर्वाग्रहका आधारमा समपूरक योजना कार्यान्वयन नगर्न बजेट कटौती गरेको, बिषयगत समितिबाट पारित भएका नगरस्तरीय योजनाहरुलाई प्राथमिकता नदिएको र व्यक्तिगत फर्म, उद्योग, कार्यकर्तालाई वितरण गर्ने हिसाबले बजेट ल्याएको उनीहरुको आरोप रहेको छ ।एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै बहुमतको आडमा जनताको आवश्यकता भन्दा बाहिर गएर बजेट ल्याएको नगरसभा सदस्य भीमप्रसाद भट्टले बताए ।