डोटी। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिकाको पहलमा वडा नं २ को केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि सोलार विद्युत् वितरण गरिएको हो।
गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका एक सय घरधुरीका नागरिकहरुलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। उहाँले भन्नुभयो, गाउँमा विद्युत् नहुँदा नागरिकलाई समस्या थियो, अहिले हाम्रो पहल तथा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार विद्युत् वितरण गरिएपछि सहज भएको छ।
सोलार सिष्टमबाट कुल २५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको स्थानीयवासी गीता केसीले जानकारी दिए। गाउँमा विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकले राति उज्यालोका लागि सल्लाको दियालो बाल्नु पर्ने समस्याबाट मुक्ति पाएका छन् । सोलार प्रणालीबाट गाउँमा वर्षौँपछि विद्युत् पुगेपछि अहिले यहाँका नागरिकलाई मोबाइल फोन चार्ज, टेलिभिजन हेर्न सहज भएको अर्का स्थानीय हेम बमले जानकारी दिए।