काठमाडौं। अख्तियार दुरुपयोग आयोगले डोटीको सायल गाउँपालिका-५ का तत्कालीन निमित्त प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालिन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, गाउँपालिका अध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की,उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी वोगटी (खड्का)ले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ बिगो दाबी गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिइ अनियमितता गरेकोबारे उजुरी परेको थियो।उजुरीका आधारमा छानविन गर्दा अनियमितता गरेको पाएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।