कैलाली। बर्खायामसँगै कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराका कारण सङ्क्रमित भएका विरामी भेटिएका हुन् । आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये चार जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
आइतबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर उनीहरू अस्पताल पुगेका थिए । उक्त समस्या ‘नाइरोबी फ्लाई’ को संक्रमणको कारण भएको अस्पताल अध्यक्ष अशोक शाहले जानकारी दिए । उनले आज मात्रै ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखिएको बताए । ‘हस्पिटलको ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखियो,’ उनले भने, ‘अहिले उनीहरू उपचारपछि घर फर्किसकेका छन् ।’
भारतीय सीमानजिक रहेको उक्त क्षेत्रमा नाइरोबी फ्लाई किराको सङ्क्रमण देखिन थालेको हो । सो क्षेत्रमा ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन मिरर अस्पतालका सञ्चालक शाहले आग्रह गरे ।हस्पिटलले २४सै घण्टा इमरजेन्सी सेवा, फार्मेसी, प्याथोलोजी सेवा, भिडिओ एक्स–रे, एक्स–रे तथा इसिजी सेवा सञ्चालन गर्दै आएको छ । नाइरोबी फ्लाई किराको सङ्क्रमण देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।