काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन्। उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ । शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’
मैले गल्ती गरेको छैन: शर्मा- सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरेका थिए । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए । उनले अघि भने, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।