कैलाली। सुदुरपश्चिम प्रदेशसहित देशभर सातौँ कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न भएको छ । वैशाख ६ गतेदेखि सुदुरपश्चिम प्रदेशका ९ जिल्लासहित ७७ वटै जिल्लाबाट कृषि गणनाका लागि तथ्याङ्क सङ्कलनको काम सम्पन्न भएको हो ।
राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले हाल ७७ वटै जिल्लाबाट सङ्कलन गरिएको तथ्याङ्कका फाराम सङ्कलनको काम भइरहेको जानकारी दिए ।उनका अनुसार अब डोटी जिल्लाबाट मात्र तथ्याङ्कका फाराम आउन बाँकी रहेको छ। ‘७७ वटा जिल्लामध्ये डोटीको तथ्याङ्क आउन बाँकी छ’ उनले भने,‘बाटो बिग्रिएका कारण अरू जिल्लामा भन्दा केही ढिला भएको हो।
त्यो पनि अब चाडै आइपुग्छ ।’तथ्याङ्क सङ्कलनको काम सम्पन्न भए पनि अझै तथ्याङ्क सार्वजनिक गर्न भने ३/४ महिना लाग्ने छ । अब गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरिसके पछि मात्र प्रतिवेदन सार्वजनिक गरिने उनले बताए । ‘प्रतिवेदन सार्वजनिक गर्न हामीलाई अझै समय लाग्छ’ उनले भने,‘कोडिङ, इडिटिङ, इन्ट्री तथा आएका तथ्याङ्कको विश्वास लागेन भने फोनबाट अथवा उही गएर भेरिफाइ पनि गछौं ।’कार्कीले भने प्रशोधन तथा विश्लेषण गरी मङ्सिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।” पहिलाको तुलनामा यस पटक कृषि गणना फरक तरिकाले गरिएको छ ।
उनका अनुसार कृषि गणना कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र हुने गरेको थियो । तर यस पटक ७५३ वटै पालिकाको वडा वडामा गएर किसानको विवरण सङ्कलन गरिएको छ । कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषि कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गालगायतका विवरण समेटिएका छन् । कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशु आहारको स्रोत, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड–१९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ मा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा चार आना र तराईका जिल्लामा भए कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएकालाई किसान मान्ने मापदण्ड बनाएको थियो अथवा जुनसुकै उमेरका कम्तीमा एक९एक गाई–भैँसीजस्ता ठुला चौपाया पालेको वा कम्तीमा पाँच वटा भेडा–बाख्राजस्ता साना चौपाया पालेको वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेकालाई कृषि गणनामा राखिएको छ । राष्ट्रिय कृषि गणना २०७८ वैशाख ६ गतेदेखि सुरु गरिएको थियो । यो कृषि गणनामा ८६ करोड खर्च लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा गणना तयारीका लागि ५ करोड, गणनाको लागि आर्थिक वर्ष २०७८/७९ मा ७२ करोड र तथ्याङ्क सङ्कलन भइसकेपछि प्रकाशन तथा डाटा इन्ट्रीको लागि आर्थिक वर्ष २०७९/८० मा ९ करोड लाग्ने अनुमान गरिएको हो । यो पटक तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषकसँग कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको थियो । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०र१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।
“