काठमाडौं। सुदुरपश्चिम प्रदेशमा र बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्ने खेल शुरु भएको छ । बाग्मती प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि एस पार्टीले पनि सुदुरपश्चिम प्रदेशमा सरकार परिवर्तन गर्न दबाब दिएको छ ।
गठबन्धन दलका तर्फबाट माधवकुमार नेपालले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर बाग्मती प्रदेशको सरकार छाड्न तयार रहेको तर सुदुरपश्चिम प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बनाउनु पर्ने शर्त राखेका छन् । ६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दबाब दिएका थिए ।
नेकपा(एकीकृत समाजवादी)का नेता पाण्डे पाँचदलीय गठबन्धनको समर्थनमा बाग्मती प्रदेशको मुख्यमन्त्री बनेका हुन । घटक दलले दबाब दिन थालेपछि एकीकृत समाजवादी बाग्मती प्रदेस संसदीय दलको बैठक आह्वान गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार काठमाडौंमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकमा सहभागी हुन सबै सांसदलाई काठमाडौं बोलाइएको छ । मुख्यमन्त्री पाण्डे भने यसअघि नै काठमाडौं पुगिसकेका छन् । माधव नेपालले पनि गठबन्धन दलहरुसँग सुदुरपश्चिमको मूख्यमन्त्री माग गरेका छन् ।
‘सुदुरपश्चिममा कुरा मिलेमा बाग्मती प्रदेशको मूख्यमन्त्री छाड्न सकिन्छ’, स्रोतले भन्यो । बाग्मतीको मूख्यमन्त्री छाड्ने विषयमा पाण्डेले शुक्रबार पार्टी नेतृत्वसँग छलफल गरेका थिए । विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै उनले सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । पाँचदलीय गठबन्धनका तर्फबाट गत वर्ष कात्तिक ११ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदा ६ महिना पदमा बस्ने सहमति भएको कांग्रेस र माओवादीको भनाइ छ । सहमति कार्यान्वयनका लागि भन्दै दुवै दलले प्रदेश सांसदहरूको हस्ताक्षर संकलनसमेत सुरू गरेका छन् । नेपाली कांग्रेसका प्रमख सचेतक छिरिङ दोर्जे लामाले सरकार बनाउँदै गर्दा ६–६ महिना नेतृत्व गर्ने सहमति भएको बताए । ‘सरकार बनाउँदै ६–६ महिनाको सहमति भएको थियो । सहमति पत्र पनि बाहिर आइसकेको छ । ६ महिना कटिसकेको छ, बजेटका लागि हामी रोकेका थियौं,’ लामाले भने,‘सहमतिमै सरकारको नेतृत्व छाड्ने कुरा हो ।प्रक्रियामा जाँदा प्रदेशसभा सदस्यहरूको हस्ताक्षर चाहिन्छ नै ।
त्यसैले संकलन गरिरहेका हो ।’ पूर्वसहमतिअनुसार मुख्यमन्त्री पाण्डेले आफैं सत्ता हस्तान्तरण गर्ने कांग्रेस माओवादीको विश्वास छ । ६ महिना एकीकृत समाजवादी र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको हो। कांग्रेसका तर्फबाट इन्द्र बानिया मूख्यमन्त्री बन्नेछन्।उता सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एस पार्टीका दीर्घ सोडारीले दाबी गरिरहेका छन्। सुदुरपश्चिममा एस पार्टी निकै बलियो मानिन्छ । तर माओवादीको नेतृत्व भएका कारण त्यहाँ सहमति कायम हुने संभावना निकै कम रहेको छ । ‘माधव नेपालले साह्रै जोड गर्नु भएको छ तर संभावना निकै कम छ’, एक नेताले भने ।बाग्मती प्रदेशबाट मात्रै सरकार छाड्नु परेमा माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट चिढिने संभावना बढेको छ । बाग्मतीमा एस पार्टीलाई एमालेले समर्थन गर्ने संभावना पनि रहेका कारण तत्काललाई एस पार्टीले सरकार छाड्ने संभावना टाढा रहेको छ । तर शनिबार बस्ने संसदीय दलको बैठकले गर्ने निर्णयमा भर पर्ने नेताहरुले बताएका छन् ।
बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे राजीनामा दिन तयार