बैतडी । नियमित रूपमा सञ्चालन हुन नसकेको बैतडी—धनगढी उडान फेरि रोकिएको छ । चैतको पहिलो सातातिर भएको उडान त्यसपछि हुन सकेको छैन । बैतडीबाट धनगढी समिट एअरले उडान भर्दै आएको छ । उडान रोकिएको ३ महिना भइसक्दासमेत अब कहिले उडान हुने भन्ने टुंगो छैन ।
सुरुवातमा शुक्रबार उडान भर्दै आएको समिट एअरले केही समयअघिबाट बिहीबार उडान गर्दै आएको थियो । साताको एक दिन मात्र उडान हुने गरेको थियो । यात्रु नभएकोले उडान गर्न नसकिएको बैतडी पाटन विमानस्थल हेर्ने समिट एअरका कृष्ण भट्टले बताए । उनले भने, ‘चैतको पहिलो हप्तातिर एउटा उडान भएको थियो । त्यसयता भएको छैन । अहिले यात्रु अभावका कारण हामीले उडान गर्न सकेका छैनौं ।’ यात्रु कम भएर मात्र उडान गर्न नसकिएको उनले बताए ।
यात्रु भएपछि गर्न सकिने बताए । अन्तिम उडान हुॅदासम्म ४ हजार ६ सय भएको भाडा अहिले फेरि बढेको छ । अब ५ हजारमा मात्र उडान भर्न सकिने अवस्था रहेको भट्टले बताए ।यता स्थानीय भने भाडा महँगो भएकोले यात्रुहरू नपाइने समस्या रहेको बताउँछन् । बढी भाडाकै कारण आफूहरूले हवाई सुविधा लिन नपाएको उनीहरूको गुनासो छ । यही दूरीको अन्य ठाउँको उडान सस्तो भए पनि बैतडीमा सुरुबाटै महँगो भएको स्थानीय कपिल केसी बताउँछन् । ‘स्थानीयले चढ्नै नसक्ने भाडा छ अनि कसरी यात्रु पाइन्छन् रु सुरुबाटै भाडा व्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।
यत्तिकै दूरीको काठमाडौं—पोखराको भाडा, यहाँभन्दा टाढा अछामबाट धनगढीको भाडा कमै भए पनि यहाँको महंँगो भएको चेतना बोहराले बताइन् । उनले भनिन्, ‘भाडा निकै अवैज्ञानिक र अपारदर्शी छ । हवाई सेवा सर्वसाधारणको पहुँचमा छैन ।’ एउटै एयरलाइन्सको जिम्मा लगाएर महंगो भाडादर कायम भएकाले यात्रुहरू नपाउने समस्या रहेको उनले बताइन् ।