बैतडी। बैतडीमा कालाजार देखिएका एक जनाको मृत्यु भएको छ। बैतडीमा चालु आर्थिक बर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएका मध्ये एक जनाको मृत्यु भएको हो।
कालाजार देखिएका मध्ये शिवनाथका एकजनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानका ८ जनामा कालाजार देखिएको र कालाजारबाट एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
अहिले सम्म दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका गाउँपालिकाका एक जनामा कालाजार देखिएको स्वास्थ्य प्रमुख भट्टले बताए । कालाजार एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने गरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिएका छन् ।