काठमाडौं । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकण सोधिएको छ । जिल्ला कमिटी इन्चार्ज नारदमुनी रानाले उनलाई २३ बुँदे स्पष्टीकरण सोधेका छन् ।
थापामाथि लम्कीचुहा नगरपालिकामा प्रमुखका उमेदवार महादेव बजगाईं र उपप्रमुखका उमेदवार जुना चौधरीसहित केही वडा अध्यक्षलाई हराउने योजना बनाएको आरोप लागेपछि स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ । उनलाई ३ दिनभित्र जवाफ दिन भनिएको छ ।
“तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकाको वैशाख ३० को निर्वाचनमा तपाईंले प्रमुख पदका उमेदवार महादेव बजगाईं र उपप्रमुख पदका उमेदवार जुना चौधरीसहित केही वडा अध्यक्षहरूलाई हराउने योजना बनाई अन्तर्घात गरेको भन्ने लुम्कीचुहा नगरपालिका निर्वाचन परिचालन मूल समितिको मिति २०७९/०२/२२ गतेको समीक्षा बैठकको निर्णय र प्रतिवेदन र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन समितिको मिति २०७९/०२/२६ गतेको समीक्षाको निर्णय र नोटको आधारमा तपाईंमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा तपाईंको भनाई के हो ?,” पत्रमा भनिएको छ, “तपाईंले निर्वाचनमा असहयोग, अन्तर्घात गरेको हो होइन रु उक्त प्रतिवेदनहरूबाट केही गम्भीर सवालहरू उठेकाले निम्न प्रश्नहरूको तपाईंले सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयलाई उपलब्ध गराई दिन निर्देशित गरिन्छ ।”