धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरामा असार ९ गतेदेखि १५ गतेसम्म ‘फाईजर–लायोएनटेक’ नामक खोप लगाइने भएको हो। आइतबार धनगढीमा आयोजना भएको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धी पत्रकार अन्तरक्रियामा सो कुरा जानकारी दिइएको हो।
५ वर्षदेखि १२ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त अन्तरक्रियामा प्रस्तूतिकरण गर्दै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताए। यो खोप सुरक्षित भएकाले सबै बालकालिकालाई खोप अभियानमा सहभागी गराउन उनले आग्रह गरेका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले खोप विद्यालयमा नै गएर लगाउने भएको छ। खोप लगाएमा बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको खड्काले बताए। साथै कोभिड–१९ संक्रमित भएको अवस्थामा उक्त खोप नलगाउन उनले अनुरोध गरे। तर निको भएको ३० दिनपछि भने खोप लगाउन मिल्ने खड्काले बताए। यस्तै ५ वर्षभन्दा कम र १२ वर्ष वा सो भन्दा बढी उमेरको व्यक्ति तथा पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएकाले यो खोप लगाउन नहुने अन्तरक्रियामा जानकारी दिइएको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका खोप केन्द्र तोकिएका विद्ययालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्था तथा तोकिएका बाहृय खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जनाएको छ ।
पहिलो चरणमा देशभरका २७ वटा जिल्लामा खोप लगाइँदै छ। जसअन्तरगत प्रदेश १ मा ४ वटा जिल्ला, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, त्यस्तै लुम्बीनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ३ वटा जिल्लामा खोप लगाइनेछ। यस्तै ‘फाइजर बायोएनटेक’ लगाएपछि सामान्यता टाउको दुख्ने, सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने, वाकवाकी लाग्ने र वान्ता लाग्ने हुने बताइएको छ। यी अवस्था सामान्य भएकाले नआत्तिन वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्काले आग्रह गरेका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुले आयोजना गरेको अन्तरक्रियामा तारकेश्वर मिडिया प्रालि काठमाडौंले सहकार्य गरेको थियो।उक्त खोप लगाउँदा स्वास्थ्य सेवा विभागबाट जारी पत्रअनुसार खोप केन्द्रमा कम्तीमा १ जना खोप दिने स्वास्थ्यकर्र्मी र थप लक्षित संख्याको आधारमा थप गर्न सकिनेछ । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्र्मी, दुई जना स्वमंसेवक रहने बताइएको छ।