धनगढी : प्रधानमन्त्री शेर बहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् । देउवाले कैलालीको नदि कटान समस्या समाधान देखी डुवान समस्या समाधान सम्मका आश्वासन दिएका छन् ।
प्रधानमन्त्री शेर बहादूर देउवाले शनिबार धनगढी उप महानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरे । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गेटा मेडिकल कलेज प्रतिस्ठान बनाउने प्रतिबद्धता गरेका छन् । गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्ने देउवाको प्रतिबद्धता छ । डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भन्दा पहिला गेटामा सञ्चालन हुनुपर्छ भन्ने यहाँका जनताले माग उठाएकोमा खुशी लागेको देउवाको भनाई थियो ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे । देउवाले बिगतमा धनगढीबाट भारत हुँदै रेल चढेर काठमाडौँ पुगेको कुरा अवगत गराउँदै अहिले बिकासले निकै कोल्टे फेरेको बताए । अहिले प्रत्येक दिन विमान आएको छ । छिट्टै पुगिन्छ । कर्णाली पारि ७ बजे पछि जान पाइने थिएन । अहिले २२ वटा पुल भएको बताउँदै उनले अँझै धेरै बिकास गर्न बाँकी रहेको बताए ।
धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनु पर्नेमा प्रधानमन्त्री देउवाले समेत जोड दिएका थिए । त्यसका लागि उनले मेयर गोपाल हमाललाई कडा रूपमा प्रस्तुत हुनु पर्ने बताए । प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको औँल्याए ।
देउवाले धनगढी संगै सुदूरपश्चिममा धेरै बिकासका काम अघी बढेको र आफ्नै पालामा अझँ कार्यक्रम लागु हुने बताएका थिए । तिनै तहका सरकारको सहकार्यमा बिकासका योजना लागु गरी जनतालाई सहज रुपमा सेवा दिन उनले निर्देशन दिएका थिए ।