धनगढी। सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराज बीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।
दुबै जनाबीच समसामयीक विषयमा कुराकानी भएको छ। तीन दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका अहिराजले कञ्चनपुरको शुक्लाफाँटा राष्टिय निकुञ्ज, थारु बस्तीहरु र दोधारा चाँदनीको भ्रमणपछि प्रदेश प्रमुख जोशीसँग भेट गरेका हुन्। उनले समसमायिक बिषयमा, बादी समुदाय, शुक्लाफाट आरक्ष पीडित ,हलिया मुक्ति, सुकुम्बासी,बाढी पीडित, नदि कटान, झलारीका स्थानीयका समस्या लगायत सुदूरपश्चिम प्रदेशका आम नागरिकका समस्याबारे गहन छलफल भएको बताएका छन् ।भेटमा अहिराजले शुक्लाफाँटा बन्यजन्तु आरक्ष भएका बेला, त्यहाँबाट विस्थापित भएका नागरिकहरु अहिलेसम्म धेरै पीडित रहेकाले उनको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे। शुक्लाफाँटाको क्षेत्रफल बढेका बेला २०५० सालमै त्यहाँका १८ सय परिवार विस्थापित भएका थिए। सरकारले उनीहरुलाई अरु ठाउँमा जग्गा दिने भनेपनि अहिलेसम्म पाएका छैनन्। यस्तै अहिराजले महाकाली पारिका गाउँ दोधारा चाँदनीका बासिन्दाका पनि सीमाका समस्याका बारेमा प्रदेश प्रमुख जोशीलाई जानकारी गराए। दोधारा चाँदनीमा धेरै मानिसहरुको हातमा जग्गाधनी प्रमाण पुर्जा भएपनि उनीहरुले जग्गा चलनभोग गर्न नपाएको समस्या सुनाए। कञ्चनपुरमा सीमानाका समस्या रहेकाले यस बारेमा प्रदेश सरकार र राष्ट्रपतिको कार्यालयलाई जानकारी गराउन पनि अहिराजले आग्रह गरे। प्रदश प्रमुख जोशी ८ महिना अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।