कञ्चनपुर। कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनीसँगै सीमा जोडिएको भारत उत्तराखण्डको गडीगोठका राहुल कुमारलाई आइतबार बिहान आँगनमै सर्पले डस्यो । त्यसपछि उनलाई उत्तराखण्डकै उधमसिंहनगर जिल्लाको खटिमास्थित सरकारी अस्पताल पुर्याइयो ।
अस्पतालले उनलाई हल्द्वानी रिफर गर्यो । राहुलका बुवा मुकेशले नजिकैको निजी अस्पतालको प्रयासमा लगे । त्यहाँबाट पनि उनलाई रेफर गरियो । दोधारा चाँदनीमा बसोबास गर्ने नेपाली आफन्तले महेन्द्रनगरको सरकारी अस्पतालमा राम्रो उपचार हुने सुनाए । आर्थिक अवस्था कमजोर भएका उनले महाकाली प्रादेशिक अस्पतालमा सर्पदंशको सस्तो र भरपर्दो उपचार हुने सुनेपछि छोरालाई सिधै महेन्द्रनगर ल्याए ।
महाकाली प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा राहुल बेहोस भइसकेका थिए । उनको शरीर पूरै पहेंलो भइसकेको थियो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अर्जुन भट्टले आकस्मिक कक्षबाट भेन्टिलेटरमा राखे । तीन दिन भेन्टिलेटरमा राखेपछि उनी होसमा फर्किए । चौथो दिन भेन्टिलेटरबाट निकालियो । उनको उपचारमा १५ भाइल एन्टिस्नेक भेनम प्रयोग भएको डा. भट्टले बताए । सर्पदंशका बिरामी अस्पताल आएपछि सुरुमा उनीहरूलाई निगरानीमा राखिन्छ । लक्षण देखिन थालेपछि १० भाइल एन्टिस्नेक भेनम दिइन्छ ।
त्यसपछि थप गर्दै १५ देखि २० भाइलसम्म दिनुपर्ने उनले बताए । उनका अनुसार भारतबाट उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामी आएको यो नै पहिलो घटना हो । ‘यहाँ नल्याएको भए छोरोका ज्यान जोगिने थिएन,’ शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा भेटिएका मुकेशले भने, ‘यहाँ पनि सस्तो र राम्रो उपचार हुॅदो रहेछ ।’ उनले छोरालाई उपचारका लागि हल्द्वानी लैजान ४/५ घण्टा लाग्ने भएकाले बाटोमै ज्यान जाने जोखिम रहेको बताए । कोरोना संक्रमणअघिसम्म तत्कालीन महाकाली अस्पतालमा पुग्ने सर्पदंशका बिरामीलाई रेफर गरिन्थ्यो । यहाँ पुग्ने बिरामी धनगढी वा सीमावर्ती बजार खटिमा पुग्नुपर्ने बाध्यता थियो । जसका कारण कतिपयले बाटोमै ज्यान गुमाउनुपर्थ्यो । खटिमा उपचार खर्च पनि निकै महँगो पर्थ्यो । तर अहिले सर्पदंशका बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
महाकाली प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सुचारु भएपछि सर्पदंशको उपचारमा निकै सहज भएको छ । दुई वर्षदेखि अस्पताल पुगेका सर्पदंशको मृत्युदर शून्यमा झरेको छ । ‘समयमै अस्पताल आए सर्पले टोकेको पनि निको हुने रहेछ,’ ५ दिनदेखि महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कैलाली भजनीका कृष्ण डगौराले भने, ‘यहाँ पनि राम्रो उपचार पाइन थालेको छ ।’ भीमदत्त नरगपालिका–७ हल्दुखालस्थित इँटाभट्टामा काम गर्ने डगौरालाई गत शनिबार राति सर्पले डसेको थियो । राति नै थाहा पाएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई पनि ४ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । अहिले उनको आईसीयू कक्षमा उपचार भइरहेको छ । महाकाली प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटर जडान भएपछि गत आर्थिक वर्षमा १० जना सर्पदंशका बिरामी भर्ना भए ।
उनीहरूमध्ये अधिकांशको भेन्टिलेटरमै राखेर उपचार भएको थियो । कतिपय त अन्तिम अवस्थामा अस्पताल पुगेका थिए । चालु आर्थिक वर्षमा हालसम्म २९ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये पनि अधिकांशको भेन्टिलेटरमै उपचार भएको थियो । ‘कुनै दिन त आईसीयू कक्षको आधा बेडमा सर्पदंशका बिरामी हुन्छन्,’ मेसु डा. भट्टले भने, ‘दुई वर्षदेखि अस्पताल आएका सर्पदंशका बिरामीको मृत्युदर शून्य प्रतिशतमा झार्न सफल भएका छौं ।’ ६ बेडको आईसीयू कक्षमा अहिले पनि दुई जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ ।सुरुमा झारफुकतिर लाग्ने र अन्तिम अवस्था आएपछि मात्रै अस्पताल आउने गरेका कारण बिरामीको अवस्था गम्भीर हुने गरेको डा. भट्ट बताउँछन् । अहिले पनि ग्रामीण भेगमा सुरुमा झारफुकदेखि जडीबुटी खुवाउनेलगायतले बिरामी समयमै अस्पताल पुग्दैनन् । उनका अनुसार अधिकांश घटनामा बिरामी सिरियस भएपछि मात्रै अस्पताल ल्याउने गरिएको छ । यसले उपचारमा लामो समय लाग्ने गरेको छ । कतिपय अवस्थामा मृत्युको जोखिमसमेत हुने उनले बताए ।कान्तीपुरबाट