बैतडी। बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधारमा खानेपानीको चरम समस्या भएको छ। डेढ महिना देखी खानेपानी योजना जीर्ण हुँदा खानेपानी सेवा अबरुद्ध भएपछि सो गाउँपालीकामा खानेपानीको चरम समस्या भएको हो ।
२०४२ सालमा बनेको खड्कीगाड खानेपानी योजना जीर्ण भएर डेढ महिना देखी खानेपानी अबरुद्ध हुँदा गाउँमा हाहाकार नै भएको स्थानिय दिपक बिष्टले बताएका छन् । उनले भने, हामी खानेपानी नभएर धेरै समस्या भोगिरहेका छौँ, खानेपानी लाइन जीर्ण हुँदा भोकभोकै ५ दिन लगाएर काम ग¥यौँ, तर मर्मत भएन्, पानी आएन, रित्तै फर्कियौँ । धुलिधार गाउँबाट १८ किलोमिटर टाढा छ खानेपानी मूहान उनले भने, अहिले घण्टौँ टाढाबाट न्वालाको पानी ल्याउनुपर्ने बाध्यता छ त्यो पनी पर्याप्त छैन् ।
गाउँका स्थानिय पनी जेठको गर्मी मौसममा खानेपानी पिउन पाएका छैनन्, अहिले सो समस्याले गाउँका स्थानिय निकै निराश बनेका छन् ।यो समस्या छिटो समाधान गरिदिन उनीहरुले सम्बन्धित निकायसम्म माग गरेका छन् । उनीहरुले स्थानिय जनप्रतिनिधीसम्म पनी सो बारेमा जानकारी गराएपनी अहिलेसम्म कुनै पहल नभएको गुनासो ब्यक्त गरेका छन्। चुनावका बेला आएका नेताहरुलाई पनि आफूहरुले खानेपानीकै समस्या बारेमा जानकारी गराएको र अब नयाँ नेतृत्व समेत आईसकेकाले खानेपानीको समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्। यता सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले लिफ्ट मार्फत गाउँमा खानेपानी पुर्याउन प्रयास रहने बताएका छन् ।