डोटी। नेपाली कांग्रेसले जिल्ला समन्वय समिति डोटीको प्रमुख लक्ष्मणबहादुर सिंहलाई बनाउने निर्णय गरेको छ। प्रमुख पदकालागि कांग्रेसबाट सिंह सिफारिस भएका हुन्। जिल्ला कार्यसमितिका पूर्व उपसभापति रहेका सिंहलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने नेपाली कांग्रेस डोटीले जनाएको छ।
यस्तै उपप्रमुखमा स्मृति चुनारालाई बनाउने निर्णय भएको छ। ९ स्थानीय तह रहेको डोटीमा कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्दै छ। कांग्रेसले जिल्लाका दुई नगरपालिकाका मेयर/उपमेयर, ५ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र एक गाउँपालिकाका उपाध्यक्ष गरी जिल्ला सभाका १५ सदस्य जितेको छ। एक गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष एमालेले जित्दा एक गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ।