बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा बुढिगंगाको निर्वाचनको बिषयमा सर्वदलिय बैठक बसेको छ। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगा नगरपालिकाका धाँधली भएपछि स्थगित भएको निर्वाचन पुनः निर्वाचन गर्नका लागि आज जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय बैठक बसेको हो।
बैठकमा बुढीगंगामा हुने निर्वाचनलाई स्वच्छ निपष्क्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न सर्वदलीय बैठक बसेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् । आज बसेको बैठकले निर्वाचन आयोगले उक्त नगरपालिकामा पुनः निर्वाचन गर्न परिपत्र गरिसकेकोले छिटो भन्दा छिटो निर्वाचन गर्नका लागि बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । बैठकमा सुरक्षा र कर्मचारी व्यवस्था गरिने कार्यका लागि तयारी भइरहेको र दलहरुले पनि निर्वाचनको मिति तोक्नका लागि सहज वातावरण बनाउदै सहमती जनाएपछि निर्वाचन अधिकृत जिल्लामा आइपुगेपछि मिति तोक्ने घिमिरेको भनाई छ।
निर्वाचन अधिकृत फेरिएकाले जिल्ला आउन समय लाग्ने भएकाले निर्वाचन अधिकृत आएपछि पुनः बैठक बोलाएर निर्वाचनको मिति यथासिघ्र तोक्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताउँछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले बोलाएको बैठकमा मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरे,प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी,नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावल,निवर्तमान सभापति कविराज पण्डित,नेकपा एमाले बाजुरामा सचिव भरत थापा,बुढीगंगा नगर प्रमुखका उम्मेदवार रामबहादुर बानियाँ,एकिकृत समाजवादीका बाजुरा अध्यक्ष गगन रावल,सुरक्षा निकायका प्रमुख लगायत बैठकमा सहभागीता भएको थियो ।