बैतडी। बैतडीको सुर्नया नदीबाट ढुंगा, बालुवा तथा गिट्टी उत्खननमा रोक लगाइएको छ। बैतडीको पाटन नगरपालिकाले सुर्नया नदीबाट जथाभावी रुपमा भईरहेको ढुंगा, बालुवा र गिट्टी उत्खनन कार्यमा रोक लगाएको हो ।
नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न सो निर्णय गरिएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए । नगरपालिका क्षेत्रभित्रको नदी किनारबाट जथाभावी ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्ने कार्य भईरहेकाले रोक लगाइएको र नदीजन्य पदार्थको जथाभावी दोहन रोक्न प्रभावकारी कार्यान्वयन गर्ने नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए।
नगरपालिकाले नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा निश्चित मापदण्ड बनाउने र त्यसपछि मात्रै उत्खनन गर्ने कार्य शुरु गर्ने र करको दायरामा ल्याउने प्रयास भईरहेको उनले बताए । नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा,गिट्टी उत्खनन गर्न दिनेछ । तत्कालका लागि अर्को सूचना नभएसम्मका लागि सुर्नया नदीबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्न नपाइने उपप्रमुख बोहराले बताए ।