बाजुरा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । बाजुरामा पाँच गाउँपालिका र चार नगरपालिका ९ पालिका रहेकोमा तीन वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो।
संगै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार मतपरिणाम सार्वजनिक भएका पालिकाका प्रमुख उप प्रमुख र वडाध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।
उनीहरुले वडामादेखि पालिकासम्मको पदभार ग्रहण गरेका छन् । नेकपा एमालेले बडीमालिका नगरपालिका,बुढीनन्दा नगरपालिका गरी २ नगरपालिका र तीन गाउँपालिका जगन्नाथ गाउँपालिका,गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका गरी ५ पालिका विजयी हासिल गरेको छ । एमालेले बडीमालिकामा अमर खड्का,नन्दा थापा, बुढीनन्दामा जनक कुमार बोहरा,गौमुलमा हरिबहादुर रोकाया,सिता थापा,जगन्नाथमा काली बहादुर शाही,मरुकला विष्ट र खप्तड छेडेदह गाउँपालिकामा दीलबहादुर रावत निर्वाचित भएका छन् । यस्तै नेपाली काँग्रेसले त्रिवेणी नगरपालिका विजयी हासिल गरेको छ ।
भने हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका गरी दुई गाउँपालिका जितेको छ । नेपाली काँग्रेसका हिमालीमा गोविन्द्रबहादुर मल्ल,स्वामीकार्तिक खापर गाउँपालिकामा भरतबहादुर रोकाया,मैना जोशी र त्रिवेणी नगरपालिकामा कर्णबहादुर थापा र कमला जैशी न्यौपानेले जितेका छन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिका सहित ६ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो । भने नेकपा एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा काँग्रेसले तीन पालिकामा चित्त बुझाउनु परेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि एमालेले लिने भएको छ ।
बुढीगंगामा मतदान कि मतगणना ?
जिल्लाका आठ पालिकाको मत परिणाम आएपनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मत गणना गर्नै विषयमा भने विवाद रहेको छ । मतदानको बेला काँग्रेसले एमालेका कार्यकर्ताले मतदातालाई सहज रुपमा मतदान गर्न नदिई धाधली र बुथ कब्जा गरेको आरोप लगाउदै ४ वडाका मतदानमा पुनः मतदान गर्नुपर्ने माग राख्दै आएको छ । उक्त नगपालिकाका वडा नम्बर २,३,५ र ९ वडामा काँग्रेसले पुनः मतदान गर्न माग राखेको हो ।
भने नेकपा एमालेले वडा नम्बर ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । bनगरपालिकामा मतदान भएको एक साता बढी वितिसक्दा समेत आयोग अनिर्णित हुँदा मतदातामा निराशापन छाएको छ । पालिकाको निर्वाचन अधिकृत समेत छैन । असुरक्षित र पार्टीका नेताहरुले घेराबन्दी गर्न थालेपछि निर्वाचन गराउन नसक्ने भन्दै मार्तडीमा पुगेर बैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाइृ पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजिनामा बुझाउनु भएको थियो । सापकोटाको राजिनामा पछि पालिका निर्वाचन अधिकृत विहिन बनेको छ । धाधली भएका वडामा काँग्रेस पुन मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको भएपनि दुबै पार्टीले अदालतमा जाने तयारी थालेका छन् ।