डोटी। डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार गणेश बहादुर खड्का विजयी हुनुभएको छ । खड्का ३ हजार ७ सय ७३ मत सहित विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेकपा एमाले का उमेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्र उमेदवार योगेन्द्र बहादुर खड्काले ९ सय ७ मत मात्रै प्राप्त गर्नु भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार तारा प्रसाद ओझा १ सय ३६ मतमा सीमित रहनु भयो ।
विजयी खड्का नेपाली कांग्रेसका जिल्ला सचिव र निवर्तमान नेविसंघका अध्यक्ष हुन् ।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्दी एमाले उमेदवार जानकी खड्काले ३ हजार ३ सय ८९ मत प्राप्त गर्नु भयो । नेकपा एकीकृत समाजवादीका उमेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार कविता साउदले एक सय ७२ मत प्राप्त गर्नुभयो ।उपाध्यक्षमा विजयी हुनुभएका लक्ष्मी नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडाहरु रहेको आदर्श गाउँपालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ ।
वडा नम्बर १ मा कांग्रेसका उमेदवार भरत बहादुर खड्का विजयी हुनु भएको छ । वडा नम्बर २ मा एमाले उमेदवार रमेश साउद र वडा नम्बर ३ मा एमालेकै वीरेन्द्र प्रसाद पाठक विजयी हुनु भएको छ ।त्यस्तै वडा नम्बर ४ मा कांग्रेस उमेदवार राजेन्द्र ओझा, वडा नं। ५ मा कांग्रेसकै उत्तम बहादुर सिंह विजयी हुनुभएको छ । वडा नं। ६ मा एमाले उमेदवार लाल बहादुर खडायत र वडा नम्बर ७ मा कांग्रेस उमेदवार लाल बहादुर विष्ट विजयी हुनु भएको निर्वाचन अधिकृत दुर्गादत्त विष्टले जानकारी दिनु भयो ।२०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडा सहित नेकपा एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो । आदर्श गाउँपालिका नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल र नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंहको गृह पालिका हो ।एमालेको गढका रूपमा चिनिने उक्त गाउँपालिकामा कांग्रेसले ४ वटा वडा सहित अध्यक्ष उपाध्यक्ष जितेपछि एमालेको विरासत गुमेको छ ।