बैतडी। बैतडीको पुर्चौंडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ५ कुवाकोटको सल्लेली गाउँमा बुधबार राति साढे १२ बजे दुवै पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार समेत रहेका नरबहादुर बोहरा र नेपाली कांग्रेसका कार्यकर्ता गोपाल बोहरा घाइते भएको बताए ।दुवै जनाको टाउकोमा चोट लागेको र उनीहरुलाई उपचारका लागि धनगढी धनगढी ल्याइएको छ।
घटना लगत्तै प्रहरी निरीक्षक रणबहादुर चन्दको नेतृत्वमा सो ठाउँमा प्रहरीको टोली खटिएको र अहिले अवस्था समान्य रहेको प्रहरी निरीक्षक जोशीले बताए। उक्त घटनामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एक अर्कोलाई आरोप लगाएका छन् । कांग्रेसका कार्यकर्ताहरुले वडा सदस्यका उम्मेदवारमाथि आक्रमण गरेको माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले बताए । यस्तै नेपाली कांग्रेसका पुर्चौंडी नगरसभापति गणेशबहादुर गडालले माओवादीका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ताहरुमाति आक्रमण गरेको बताएका छन् ।