कैलाली। कैलालीमा गठबन्धनविरुद्ध ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
कैलालीका चार स्थानीय तह गोदावरी नगरपालिका, कैलारी गाउँपालिका,चुरे गाउँपालिका, जोशीपुर गाउँपालीकाका ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध बागी उम्मेदवार घरदैलोमा व्यस्त भएका छन्।
भागबन्डामा माओवादीलाई परेको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसबाट राजसमझ चौधरी चुनावी मैदानमा छन्।उनले रुख चिह्नमै भोट मागिरहेका छन्। पार्टीको आधिकारिक पत्रबाट उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नगरेपछि रुख चिह्न नै पाएका हुन्। तर काङ्ग्रेसले भने उनलाई आफ्नो आधिकारिक उम्मेदवार नभएको जनाएको छ। यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर रजवार, उपाध्यक्षमा डिला सिजापती र एकीकृत समाजवादीका कृष्णकुमार खत्री बागी उम्मेदवार बनेर भोट मागिरहेका छन्।
कैलारी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा, माओवादी केन्द्रबाटै गोदावरी नगरपालिकाको मेयरमा विक्रम विश्वकर्मा, उपमेयरमा रिमा खड्का र जोशीपुरको उपाध्यक्षमा काँग्रेसबाट किरण चौधरीको बागी उम्मेदवारी छ।यसैगरि, कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ। तीन दलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन्।
सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तीन दलीय गठबन्धनले पार्टीका सदस्य तथा नेता, कार्यकर्ता रहेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुमाथि कार्बाही गर्ने निर्णय गरिएको जानकारी दिएको छ।गठबन्धनको निर्देशनविपरीत मनोनयन दर्ता गर्ने उम्मेदवारहरु आधिकारिक गठबन्धन नभएको र यस्तै गठबन्धनले तालमेलको मर्मअनुसार चुनावमा सहभागी हुन जिल्लाभर आआफ्नो पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिएको जनाएको छ।