धनगढी। नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले ओलीको तानाशाही रोक्न र जनताको अधिकार स्थापना गर्न गठबन्धन बनेको बताएकी छन् ।
आज धनगढी स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले कुनै व्यक्ति विशेषका लागि गठबन्धन नबनेको जिकिर गरेकी हुन् ।‘सबैतिर बदमासी भएपछि गठबन्धन बनेको हो । यो गठबन्धन कसैको व्यक्तिगतका लागि बनेको होइन’ उनले भनिन्, ‘संविधान बचाउन,ओलीको तानाशाही रोक्न र जनताको अधिकारका स्थापना गर्न गठबन्धन बनेको हो ।
’देउवाले कांग्रेसको नेतृत्वमा आएको संविधान मास्ने प्रयास भएको समेत टिप्पणी गरिन् ।‘कांग्रेसले संविधान ल्यायो । कार्यान्वयन गर्ने भन्दा एमालेले भत्काउन लाग्यो’ उनले भनिन्, ‘तानासाह प्रवृत्ति उल्टाउन सरकार गठन भयो ।’स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरू इमानदार बन्न समेत उनले आग्रह गरेकी थिइन् ।
फरक दलले फरक दललाई मतदान गर्न सकस मानिरहेको सङ्केत गर्दै उनले भनिन् , कसैले भन्छन्, हसिया हतौडामा कसरी भोट हाल्ने ? हसिया हतौडामा भोट हाल्नेले कसरी रुखमा भोट हाल्ने भन्नुहुन्छ । तर यो संयुक्त लडाइ हो । विचारको लडाइ हो । गठबन्धनले बनाएका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’ हामीले परिकल्पना गरेको समृृद्धि यसैमा रहेको छ । त्यसले गर्दा प्लिज गठबन्धनमा भोट हाल्दिनुहोस् ।’ उनले धनगढी उपमहानगरपालिका मुलुककै उत्कृष्ट रहेको समेत बताइन् । धनगढी उपमहानगरपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरूलाई जिताउन उनले आग्रह गरिन् ।
‘धनगढी समृद्धिको बाटोमा लम्किरहेको छ’ उनले भनिन्, ‘नृपबहादुर वडकै कारण धनगढीमा समृद्धि पलाएको हो । उहाँलाई जिताउन आवश्यक छ ।’ उनले पाँच वर्षमा धेरै विकास भएको बताइन् । पाँच वर्षमा नृप वडले गरेका कामको उनले खुलेर प्रशंसा गरेकी थिइन् । ‘धनगढी समृद्धिको बाटोमा लम्किरहेको छ’ उनले भनिन्, ‘नृप बहादुर वडकै कारण धनगढीमा समृद्धि पलाएको हो । उहाँलाई जिताउन आवश्यक छ ।’ गठबन्धनको तर्फबाट धनगढीमा प्रमुखमा कांग्रेसका पूर्व मेयर समेत रहेका नृप बहादुर र माओवादीबाट शान्ति अधिकारी छन् । एमालेको तर्फबाट प्रमुखमा रण बहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बनेका छन् । स्वतन्त्र तर्फ गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् ।