धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् ब्यवसायी गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आज र भोली ५ बजेसम्म मनोनयनका लागी समय तोके अनुसार आज बिहान उनले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
हमालले हाम्रो धनगढी हामी बनाउने मूलमन्त्रका साथ फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए । मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए ।
जनताले गठबन्धन नगरेको र गठबन्धन नेताहरुले मात्र गरेका कारण बाँडीचुँडी खानबाट रोक्न आफ्नो उमेदवारी रहेको हमालले बताए । आफु धनगढीका सबै जनताको प्रतिनिधी हुने दावी गरे ।
मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन् । उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन् । ०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए। उनी काँग्रेसका नृपबहादुर वडसंग दुई हजार सात सय मतले पराजित भएका थिए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गरिरहेका छन् ।