अछाम। कैफियत फैसला दिएको भन्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी समेत सर्वोच्च अदालत काजमा तानिएका छन्। आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्रमा हस्ताक्षर गरी पठाएका छन् ।
जबरजस्ती करणी मुद्दामा जाहेरवाली किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने फैसला गरेका जोशीको उक्त फैसलामा कैफियत देखिएको भन्दै छानबिनका लागि तत्काल जिम्मेवारीबाट मुक्त गरिएको सर्वोच्च स्रोतले बताएको छ ।सर्वोच्च अदालतबाट आइतबार नै अछाम जिल्ला अदालतमा पत्र पठाइएको छ र उक्त पत्र न्यायाधीश जोशीले प्राप्त गरिसकेका छन् । कामु प्रधानन्यायाधीशले काजमा तानेलगत्तै उनले इजलासमा बस्न पाउने छैनन् । जिम्मेवारीबाट मुक्त गरेर उक्त फैसला उपर छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने तयारी भएको छ ।
तत्काल जिम्मेवारीबाट मुक्त गर्नका लागि सुरुमा सर्वोच्च अदालत काजमा तानिए पनि पछि जिल्ला न्यायाधीशमाथिको छानबिन गर्न न्याय परिषद्ले समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही गर्नु वा नगर्नु पर्ने के कति आधार र कारण छन् सो को आधारमा न्याय परिषद्ले निर्णय लिनेछ । यसअघि नै कैफियत फैसला दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारीलाई जिम्मेवारीमुक्त गर्दै सर्वोच्च अदालत काजमा तानिएको छ। न्यायाधीश निरौलामाथि न्याय परिषद्मा पनि उजुरी परेको र अपहरण र फिरौती मुद्दाका अभियुक्तलाई भारतीय नागरिक करार गर्दै सफाई दिएको तथा एक मिटरब्याजीसँग न्यायमा मोलाहिजा गरिएको आरोप लागेको थियो । त्यसबाहेक काठमाडौंकै एक प्राध्यापकमाथिको आक्रमणको थुनछेक आदेश, मोरङ जिल्ला अदालतमा हुँदा गरिएको फैसला लगायतको विषयलाई लिएर पनि प्रश्न उठेको थियो ।
त्यसैगरी न्यायाधीश सूर्यप्रसाद अधिकारीले धनाढ्य व्यक्ति मुछिएको बूढानीलकण्ठ सवारी दुर्घटना मुद्दामा आरोपितलाई सफाई हुने ढङ्गबाट भवितव्य दुर्घटना भनी फैसला दिएको आरोप छ । मादक पदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी चलाई सडक किनारामा हिँडिरहेकी महिलाको ज्यान गएको घटनामा अदालतले यान्त्रिक गडबडी भन्दै भवितव्य दुर्घटनामा हुने सजाय मात्रै सुनाएको थियो । साथै नेपाली लाइसेन्स नभएको अवस्थामा विदेशी लाइसेन्सको मान्यताबारे अदालतले परीक्षणसमेत गरेको थिएन । उक्त मुद्दामा न्यायाधीशले पहिलो दिन नसकिएपछि हेर्दाहेर्दैमा राखेर भोलिपल्ट फैसला सुनाएका थिए । जागिरे जीवनको उत्तरार्द्धमा रहेका न्यायाधीश अधिकारीले कैफियत फैसला दिएको भन्दै न्यायाधीश निरौलासँगै उनलाई पनि सर्वोच्च अदालत काजमा तानी छानबिनको प्रक्रियामा राखिएको छ। उनीहरु दुवैलाई गत चैत १४ गते सर्वोच्च अदालत काजमा तानिएको थियो । काठमाडौंका दुई न्यायाधीशपछि अछाम जिल्ला अदालतका न्यायाधीशलाई पनि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालत काजमा तानेर न्यायाधीशको जिम्मेवारी खोसेका छन्। अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले बलात्कार पीडित किशोरीलाई नै ३ वर्ष ६ महिनाको कैद सजाय सुनाएका कारण उक्त फैसला नमिलेको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको हो । विवाह गर्छु भनी माग्न आएका युवकले १९ वर्षीय किशोरीलाई उनकै घरमा बलात्कार गरेको भन्दै किशोरीले दिएको जाहेरीका आधारमा युवकमाथि मुद्दा चलेको थियो ।
युवक र किशोरी दुवैले विवाहको प्रलोभनमा परी सहमतिमै यौनसम्बन्ध राखेको बयान दिएका थिए । तर पछि युवकले तत्काल बिहे नगर्ने भनेपछि किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । उनले आफूमाथि इच्छाविपरीत जबरजस्ती करणी भएको बयान दिएकी थिइन् । यद्यपि किशोरीले अदालतमा बयान दिने क्रममा भने सहमतिमै यौन सम्बन्ध भएको तर युवकले विवाह गर्न नमानेपछि आवेगमा जाहेरी दिएको बताएकी थिइन् । उमेर पुगेकी किशोरीले सहमति नै यौन सम्बन्ध राखेको भनेपछि अदालतले युवकलाई सजाय ठहर गर्ने कुरा त भएन नै बरु न्यायाधीशले झूठो जाहेरी दिएर बलात्कार जस्तो संगीन अपराधमा फसाउन खोजेको भन्दै किशोरीलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएका थिए । तर उनले सुनाएको सजाय तत्कालीन समयको कानूनभन्दा विपरीतको थियो । निस्क्रिय भइसकेको ‘यौन हिंसा विरुद्धको केही कानूनलाई संशोधन गर्न बनेको अध्यादेश’ लाई टेकेर उनले पीडित भनिएकी किशोरीलाई नै थुनामा पठाउने फैसला गरिदिएका थिए। उनको उक्त फैसला आलोचित बनेको थियो। पीडित किशोरीको पारिवारिक अवस्था, होस्टाइलको कारण, विवाह नभएकी किशोरीको सामाजिक अवस्था आदिलाई नहेरी न्यायाधीशले फैसला गरेको भन्दै उक्त फैसलामाथि व्यापक टिकाटिप्पणी भएको थियो।
त्यसलगत्तै कामु प्रधानन्यायाधीश कार्की र न्याय परिषद्ले उक्त फैसलाको अध्ययन गरेका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार अछाम जिल्ला अदालतका न्यायाधीश जोशीलाई यतिबेला सर्वोच्च अदालत काजमा तानिएको छ र उनीमाथि पनि छानबिन हुनेछ । स्रोतले भन्यो, ‘उनले गरेको उक्त फैसला अध्ययन गर्दा कार्यक्षमताको अभाव हो जस्तो देखिन्छ । उक्त मुद्दामा अन्य कुनै बदनियत छ जस्तो त देखिँदैन, किनभने फैसलासँग पृष्ठभूमि पनि बुझ्नुपर्ने हुन्छ। तर भर्खरका न्यायाधीश भएका कारण कार्य क्षमताको अभावचाहिँ हो कि जस्तो देखिन्छ । अब छानबिन समिति गठन भएमा उक्त समितिले दिएको प्रतिवेदनका आधारमा आगामी बाटो तय होला । तत्कालका लागि उनलाई जिम्मेवारीमुक्त गरिएको छ ।’ न्यायपालिकाको बागडोर सम्हालेलगत्तै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले काठमाडौँ जिल्ला अदालतका दुई न्यायाधीशलाई जिम्मेवारीविहीन बनाएर कारबाहीको सुरुवात गरेका थिए । त्यसपछि अहिले अछामका जिल्ला न्यायाधीशमाथि पनि एक्सन लिएका छन। सर्वोच्च अदालत स्रोतका अनुसार अहिले न्याय परिषद्मा धेरै न्यायाधीशमाथि उजुरी परेको छ र ती उजुरीको अध्ययन भइरहेको छ। सर्वोच्च अदालत स्रोतका अनुसार कैफियत फैसलाबारे जानकारीमा आएका अन्य न्यायाधीशमाथि पनि सुक्ष्म अनुसन्धान सुरु भएको छ। स्रोतले भन्यो, ‘अहिले थप क्षति रोक्न तीनजना न्यायाधीशलाई इजलासबाट बाहिर निकालिएको छ। अब फैसलाको अध्ययन र छानबिन हुन्छ अनि दोषी देखिए कारवाही हुन्छ। न्यायाधीशले जे मन लाग्यो त्यही फैसला गर्न पाउँदैनन् भन्ने नजिर राख्न पनि उनीहरुमाथि छानबिन हुन्छ र दोषी देखिए कारवाही गरिन्छ । यो सुरुवात हो, अब धेरै न्यायाधीशहरू तानिन सक्छन् ।’