डडेल्धुरा। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ घटाल थानमा आज विसु जाँत (मेला) हुँदैछ । डडेल्धुराको अमरगढी नगरपालिका–३ मा स्थित प्रसिद्ध धार्मिक शक्तिपिठ घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पुजा हुन्छ र २ गते विसु जाँत (मेला) लाग्ने गर्दछ ।
शक्तिपिठ घटाल थान विसु जाँतमा डडेल्धुरा जिल्ला लगायत बैतडी, डोटी, कैलाली र कंचनपुरबाट बाक्लो संख्यामा भक्तजनहरु पूजाआजा र मेलाको दर्शन गर्ने आउने गरेका छन् ।शक्तिपिठ घटाल थान विसु जातको दिन अपत्यारिलो शक्ति देखिने गरिन्छ । धामीहरुले नदिमा गएर मुखभरी बालुवा लिएर चपाई चपाई खाने गर्दछन् । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै पनि स्वास्थ्य समस्या हुँदैन। त्यो दृश्यले मेला भर्न आएका भक्तजन अचम्म पर्दै दैविक शक्तिको अनुभुती गर्ने गरेका छन् ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको भनाइ रहेको छ ।
घटालबाबाको दर्शन गर्नाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन रहि आएको छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्। प्रसिद्ध धार्मिक शक्तिपीठ घटालथानमा समाजसेवी विनय प्रकाश मल्लले घटाल बाबाको मूर्ति चढाएका छन् । बिहीबार विनयले घटालथानमा मूर्ति चढाएका हुन् । करिब ६२ हजार मूल्य पर्ने मूर्ति घटाल थानको प्रवेशद्धारमा चढाएको उनले बताएका छन् ।