धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँ पर्ने उपकरण हराएको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरेको वाटर क्वालिटी टेस्टिङ (पानीको शुद्धता मापन गर्ने) मेसिन हराएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले २५ माघ २०७७ मा कृषि मन्त्रालयलाई लेखेको पत्रमा प्रयोगशालामा सोसहित पाँच वटा मेसिन जडान गरिएको उल्लेख छ ।
पत्रमा उल्लेख भएअनुसारका चार वटा मेसिन पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भए पनि उक्त मेसिन भेटिएको छैन । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख भएर आएका डा।नारायणप्रसाद घिमिरेले पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त भएका पाँच वटामध्ये वाटर क्वालिटी टेस्टिङ मेसिन कार्यालयमा नभेटिएको बताए । सरकारी सम्पत्ति हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेपछि मात्रै मेसिन हराएको थाहा भएको हो ।
४ फागुन २०७८ मा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गरेर आवश्यक कागजपत्र मागेको देखिन्छ । मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई १८ चैतमा दाखिला प्रतिवेदन मागेकोमा २० चैतमा प्रयोगशालाले सामान नभेटिएको भनेर मन्त्रालयलाई जवाफ दिएको छ । तर पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जडान गरिसकेको भनिएको उपकरण त्यहाँबाट कसरी हरायो रु भन्ने प्रश्नमा तत्कालीन कार्यालय प्रमुखदेखि स्टोर किपरसम्मका कर्मचारीहरुले आ–आफ्नै दाबी गरेका छन् ।
तत्कालीन कार्यालय प्रमुख डा. नन्दकिशोर यादवले मन्त्रालयबाट प्राप्त भएका सबै उपकरण २५ माघ २०७७ मै प्रयोगशालामा जडान गरिसकेको दाबी गरेका छन् । तत्कालीन समयमा स्टोर किपरलाई समेत जानकारी नदिएर उपकरण जडान गरिएको दाबी गरे पनि हस्तान्तरण फारम भने भरेको देखिदैन। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेपछि पुरानै मिति राखेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई हराएकोसहित पाँचवटा उपकरण हस्तान्तरण गरेको भनेर कित्र्ते कागज गरिएको दाबी स्रोतको छ।
तत्कालीन कार्यालय प्रमुख यादवले २५ माघमा आफू कार्यालय प्रमुखकै रुपमा काम गरिरहेको बताउँदै हस्तान्तरण फारम नभरिएको बताए । तर अहिले त्यो मितिमा तल्लो तहका कर्मचारीबाट सामान बुझेको हस्ताक्षर गराएको भन्ने सुनेको उनी बताउँछन् । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट हराएको वाटर क्वालिटी टेस्टिङ मेसिनको खोजी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले तत्कालीन समयमा मन्त्रालयबाट पठाइएका उपकरण जडान भएको भनेर प्रयोगशालाले जानकारी गराएको तर अहिले एउटा मेसिन हराएको पाइएको बताए ।
‘