दार्चुला। भान्साकोठा, घर तथा वनमा लागेको आगो नियन्त्रण गर्ने उपायका बारेमा सुरक्षाकर्मीको टोलीले कृतिम अभ्यास प्रर्दशन गरिएको छ।
दार्चुला सदरमुकाम खलंगामा नेपाली सेनाको गुरु गोरख गुल्मको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा बसपार्क क्षेत्रमा आगलागी नियन्त्रण कृतिम अभ्यास प्रर्दशन गरिएको हो।
सुख्खायाममा वन जंगलमा हुने आगलागी तथा भान्साकोठा र विद्युत सटसर्किट भई घरहरुमा लाग्ने आगो नियन्त्रण गर्ने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी गराउन कृतिम अभ्यासको आयोजना गरिएको गुरुगोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा वन जंगल, भान्सा कोठाको ग्यास र विद्युत सटसर्किट भई घरहरुमा लागेको आगो नियन्त्रण गर्ने उपायका बारेमा कृतिम अभ्यासमा प्रर्दशन गरेका थिए। कृतिम अभ्यासमा विद्युत सटसर्किट भई एउटा घरमा लागेको आगो अरु तिन ओटा घरमा सल्किन्छ र घर भित्र रहेका केहि मानिस बाहिर निस्किन सफल हुन्छन भने केहि मानिस भित्रै अडकिएको देखाइन्छ । त्यसपछि बाहिर निस्केका मानिसहरुले सबै गाउलेलाई गुहार माग्दै लागेको आगो निभाउन पानी छ्याप्छन र रोइकराई गर्दछन्।
घरहरुमा लागेको आगो नियन्त्रण नभएपछि सुरक्षाकर्मीलाई खबर गरिन्छ र सुरक्षाकर्मीहरु आएर दमकलको सहायताले आगो नियन्त्रण गर्दछन र घर भित्र फसेका मानिसलाई बाहिर ल्याएर प्राथमिक उपचार गरिन्छ । त्यसपछि थप उपचारका लागी एम्बुलेन्स मार्फत अस्पताल पठाइन्छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाले आगलागी बाट घाइते भएकाहरुको प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा जानकारी गराएको थियो । घरहरुमा लागेको आगो नियन्त्रण पछि नेपाल प्रहरीले क्षति बारेको मुचुल्का तयार पार्दछ र पिडितलाई विभिन्न संघ संस्थाहरुबाट राहातको व्यवस्थापन गरिन्छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले आगलागी हुने सिजनमा सलाई लाइटर जस्ता ज्वलनशिल बस्तुहरुको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्। साथै उहाले सुरक्षाकर्मीले प्रर्दशन गरेको कृतिम अभ्यासको सिको गरेर आगलागीका घट्नाहरु न्युनिकरण गर्न सकिने समेत बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, सुरक्षा निकायका प्रमुख, स्थानिय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । आगलागी नियन्त्रण गर्ने सुरक्षाकर्मीको कृतिम अभ्यास असाधै राम्रो र प्रभावकारी रहेको धेरैले प्रतिक्रिया दिएका छन् ।