कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिकामा आधारभूत विद्यालयले लिने परीक्षाको प्रस्नपत्र बाहिरिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ। चैत्र २२ गतेदखी गाउँपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै परीक्षा केन्द्र तोकिएकै एक विद्यालयले प्रस्नपत्र लिक गरेको पाइएको हो ।
४ विद्यालयको परीक्षा केन्द्र तोकिएको वडा नम्बर ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले विज्ञान विषयको प्रश्न पत्र लिक गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाको शिक्षा शाखा अधिकृत सिद्ध राज भट्टको कार्यकक्षमा तयार पारिएको विज्ञान विषयको प्रस्नपत्र लिक भएको पाइएको सिकलपट्टीका वैजनाथ माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक नवराज जोशीले बताए । २१ गते साँझ नै ३० विद्यार्थीहरूलाई प्रस्नपत्र आउट गरेको पाइएको उनले बताए ।
आइतबार विभिन्न ४ विद्यालयका शिक्षक र स्थानीयहरूले उक्त विद्यालयमा तालाबन्दी गर्दे परीक्षा रद्द गरिनुपर्ने माग राखेका छन् । उनीहरूले नयाँ प्रस्नपत्र तयार गरिनुपर्ने, परीक्षा केन्द्र सारिनुपर्ने लगायतका माग राख्दै विद्यालयमा तालाबन्दी गरेका छन् । उता गाउँपालिकाका शिक्षा अधिकृत भट्टले भने प्रस्नपत्र बाहिरिएको प्रमाण खोजिरहेका जनाए । उनले प्रमाण भेट्टाए कार्वाही अगाडी बढाइने जनाए ।