बझाङ। बझाङको सेती नदीमा पहिलो पटक जलयात्रा (र्याफ्टिङ) सुरु भएको छ । बझाङको तल्कोट गाउँपालिकामा पर्ने पर्यटकीय स्थल तपोवन (तातोपानीका कुण्ड रहेको ठाउँ) बाट जयपृथ्वी नगरपालिकामा पर्ने सदरमुकाम चैनपुरसम्म नियमित सेवा दिने गरी जलयात्राको सुरुवात भएको हो ।
एक्सप्लोअर सुदूरपश्चिम टुर एन्ड एडभेन्चर प्रालि र उद्योग वाणिज्य संघ बझाङले कर्णाली र्याफ्टिङ एडभेन्चर प्रालिसँग सहकार्य गर्दै शुक्रबारबाट सेती नदीमा परीक्षण गरेको हो। तपोवनदेखि चैनपुरसम्म करिब ८ किलोमिटरमा गरिएको परीक्षण सफल भएको र शनिबारबाट नियमित व्यवसायिक सेवा सुरु गरिने एक्सप्लोअर सुदूरपश्चिम टुर एन्ड एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले जानकारी दिए । ‘करिब १ घण्टामा ८ किलोमिटर दूरी पार भयो । यो दूरीमा कतै पनि कुनै खालको अवरोध छैन । जलयात्राको लागि राम्रो सम्भावना भएको पायौँ । अब नियमित सेवा सुरु गर्न समस्या छैन‚’ उनले भने ।साहसिक पर्यटन विधाअन्तर्गत पर्ने र्याफ्टिङका लागि सेती नदी अन्य नदीभन्दा उपयुक्त र सुरक्षित भएको रिभर गाइड कालु चौधरीले बताए । कर्णाली नदीमा नियमित र्याफ्टिङ चलाउँदै आएका उनले सेती नदीमा जलयात्रा गर्दा अझ बढी आनन्द आउने बताए । ‘कर्णाली नदीको गति सेतीको भन्दा कम छ । यहाँ र्याफ्टिङका लागि ठिक्क रहेछ । भोटेकोसीभन्दा पछि र्याफ्टिङ गर्दा बढी मजा आउने सेती नदी नै रहेछ‚’ उनले सेती नदीको किनारमा रहेका बेसी फाँट र गाउँहरूको सुन्दर दृष्यले यहाँको जलयात्रा थप रमाइलो लागेको बताए । सेती नदीमा जलयात्रा सुरु भएपछि बझाङमा पर्यटन प्रर्वर्द्धनमा टेवा पुग्ने भन्दै स्थानीयहरू हर्षित भएका छन् । ‘फोटो र भिडियोमा मात्रै र्याफ्टिङ गरेको देखेको थिएँ । आफ्नै गाउँमा र्याफ्टिङ गर्न पाउँदा आनन्द आयो ।
धेरै खुसी पनि लागेको छ‚’ जयपृथ्वी नगरपालिका ३ का स्थानीय संसार खड्काले भने। जलयात्राको सुरुवातसँग बझाङ जिल्लाको पर्यटनमा नयाँ आयाम थपिएको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्काले बताए । ‘जल पर्यटन, जलविद्युत् लगायत विभिन्न सम्भावनाहरू भएर पनि सेती नदी अहिलेसम्म उपयोगविहीन अवस्थामा रहेको थियो‚’ उनले भने‚ ‘र्याफटिङको सुरुवात हुँदा यो नदीको उपयोगमात्रै हुने छैन । जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने छ ।’ खड्काले बझाङबासी र बाहिर जिल्लाबाट बझाङ आउनेहरूले सेती जलयात्राको मिठो सम्झना बोकेर फर्किने वातावरण बनेको बताए । कर्णाली नदीको मुख्य सहायक नदीको रुपमा रहेको सेती नदीको कुल लम्बाई ९ सय ६३ किलोमिटर रहेको छ । बझाङ जिल्लाभित्र मात्रै १ हजार ४ सय ८८ वर्ग किलोमिटर क्षेत्रफल जलाधार क्षेत्रफल रहेको यस नदीमा साना र ठूला गरी २१ वटा सहायक खोलाहरू मिसिन्छ । सेती नदी र यसका सहायक खोलाहरूमा सहासिक पर्यटनमा पर्ने कायाकिङ र र्याफ्टिङको राम्रो सम्भावना रहेको जानकारहरू बताउछन् । यद्यपी पछिल्लो समय बढ्दै गएको अव्यवस्थित सडक निर्माण, पहिरो, नदी किनार कटान, फोहोरको अव्यवस्थित विर्सजनजस्ता कारणले सेती नदीको स्वरुप बिग्रिँदै गएको तथा सेती र यसका सहायक नदीमा रहेका माछा लगायत जलचरहरू लोप हुन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।कान्तीपुरबाट