काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिता हुनुपर्ने बताएका छन् । उनले आगामी स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन सुदूरपश्चिम प्रदेशको सरकारमा कांग्रेसको सहभागिता नभएसम्म कार्यान्वयनमा कठिनाइ हुने धारणा राखेका हुन् ।
स्थानीय निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको परिचालन समितिको बैठकमा नेता महरले कांग्रेसको नेतृत्वमा केन्द्र र ६ वटा प्रदेशमा गठबन्धनको सरकार बनेको अवस्थामा सुदूपश्चिममा पनि बन्नु पर्ने धारणा राखेका छन् । केन्द्रदेखि ६ प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बनेको छ । जुन सुखद् कुरा हो ।
तर, सुदूरपश्चिम प्रदेशमा गठबन्धन किन नहुने ?,महरले प्रश्न गरे । पटक-पटक सुदूरपश्चिम प्रदेशका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई यसबारेमा अवगत गराउँदा पनि सरकारमा किन कांग्रेसलाई सहभागी गराइएन भन्दै उनले प्रश्न गरेका हुन् । यसअर्थ सुदूरपश्चिममा स्थानीय निर्वाचनका लागि बन्ने गठबन्ध सुदूरपश्चिम सरकारमा कांग्रेसलाई अनिवार्य सहभागी गराउनुपर्ने नेता महरको धारणा छ ।
उनले यसले गठबन्धनको संस्कृति अगाडि बढाउन बल पुर्याउने बताएका छन् । सुदूरपश्चिममा गठबन्धनको सरकारमा कांग्रेस सहभागी भए त्यसले केन्द्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए । सानेपामा जारी कांग्रेस परिचालन समिति बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु, प्रवक्ता प्रकाशशरण महतलगायत ४८ बढी केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।