बैतडी। स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ। जिल्लका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गमका ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क उपचार गर्न लागिएको हो।
चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र चैत २० गते सिगासको गाँजरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।
ती शिविरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ । शिविरमा अपाङ्गता भएका व्यक्तिको चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उनको भनाइ छ । शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ । यसैबीच जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने पनि उनले जनाए ।
अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने बताइएको छ । शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ । हाडजोर्नीको समस्या भएर अर्था भावमा उपचारबाट वञ्चित भएका नागरिकलाई उक्त सेवा लिन अस्पतालले आग्रहसमेत गरेको छ ।