धनगढी। गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आफ्नो समूह चरणको अन्तिम खेलमा बुधवार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो। फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो। १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो।
उसका लागि एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन्। बलिङतर्फ गण्डकीकी कुसुम गोदरले २ र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान १र१ विकेट लिइन्। त्यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन्। उसका आङ्पेम्बलुम्बा सेर्पाले १७ रन बनाइन्। बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान २/२ विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच ज्योत्स्नीका मरासिनी चुनिइन्।
बुधवार भएको दोस्रो खेलमा सान्त्वना जित निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ। यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेल अगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो। तर लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ। टस जितेर ब्याटिङ थालेको कर्णालीले १९।४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो। ७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४।३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। लुम्बिनीका लागि रन्जु श्रेष्ठले २९ रनको योगदान दिइन्।
बलिङ तर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान २/२ विकेट लिइन्। त्यसअघि कर्णालीका लागि किरण कुमारी कुँवरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकिनन्। बलिङतर्फ लुम्बिनीलाई सान्त्वना जित दिलाउन आष्मा पुलामी मगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिइन्। उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन्। समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन्। १र१ जित मात्रै निकालेका यी दुई टोली मध्य विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन्। उक्त खेल पछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्ने छ। नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए। प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।