काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले शुक्रबार नियमित पत्रकार सम्मेलन गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रमअनुसार, आगामी ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ।
यसका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ। सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ। सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने घोषणा गरेको छ। त्यसका लागि निर्वाचन आयोगले तयारी गरिरहेको छ। आयोगले १२ वैशाख साँझ ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको छ।
त्यसपछि आयोगले दुई दिन उजुरीमाथि छानबिन गर्ने भएको छ भने १५ वैशाख साँझ उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। १६ वैशाखमा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यहि साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। आयोगले १७ वैशाखमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। ३० वैशाखमा मतदान हुनेछ भने त्यसको ४८ घण्टाअघि २७ वैशाख राति १२ देखि मौनअवधि लागू हुने आयोगले जनाएको छ।