बैतडी। नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले निष्काशन गरेपछि गाउँपालिका उपाध्यक्ष चन्द नेपाली कांग्रेसतिर लागेकी हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकी हुन् ।
चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् । यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गरेका छन् ।
तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारवाही गरेर निष्कासन गरेको थियो । तर चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी थिइन् । हिजो मात्रै उनले एक विज्ञप्ती जारी गर्दै आफूलाई सफाईको मौका समेत नदिएर पूर्वाग्रही ढंगले कारवाही गरेको आरोप लगाएकी थिइन् ।